कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै शिशु र आमाको मृत्यु‚ अझै उठाइएन शव

जनकबहादुर शाही

हुम्ला — ४ दिनअघि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म शव उठ्न सकेको छैन । 

शल्यक्रिया गरेको एकै दिनमा नवजात शिशु र अस्पतालमै उपचाररत आमाको तीन दिनपछि मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता बोहराले नवजात शिशु र आमाको दुई दिनको अन्तरमा मृत्यु भएको जानकारी दिइन् ।

सिमकोट गाउपालिका-५ की सलिना सार्कीको शल्यक्रियापछि मृत्यु भएको हो । मृतकका ससुरा धनसिंह सार्कीले मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा ल्याएको अस्पताल स्रोतले बताएको छ ।

शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक समस्या देखिएको थियो । जिल्ला अस्पताल प्रशासनले उपचारका लागि गरिएको प्रयास असफल भएको बताएको छ । उद्धारका लागि हेलिकप्टर बोलाए पनि राति भएकाले तत्काल हेलिकोप्टर पुग्न नसकेको अस्पतालले जनाएको छ ।

चन्दनाथ नगरपालिका-८ कोटिला गाउँमा रहेका माइती पक्षले आफ्नो उपस्थितिबिना शव नउठाउन भनेपछि शवलाई अस्पतालमै राखिएको हो । प्रहरी नायव उपरीक्षक हरेम्ब शर्माले प्रहरीले माइती पक्षलाई बोलाएर शव उठाउने तयारी भइरहेको बताएका छन् । माइती पक्षले आफ्नो छोरीको मृत्यु भएको विषयमा बुझेर मात्र शव उठाउन दिने जनाएका छन् ।

हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियाबाट बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो । हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले आफ्नो छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोस्टमार्टम गरेर सम्भवतः आजै शव उठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

प्रकाशित : माघ १०, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?