मुगुमा हिमपातले जनजीवन कष्टकर 

राजबहादुर शाही

मुगु — भारी हिमपातका कारण चिसोले मुगुको जनजीवन कष्टकर भएको छ । गत शनिबारदेखि नै मौसम बदली भई आइतबारदेखि रारा, मुर्मा, ताल्च, रोवा, खमाले, मुन्दु, मुगु , बाम, किम्री, माग्री लगायत दर्जनौ बस्तीमा भारी हिमपात हुँदा चिसो बढेर जनजीवन कष्टर बनेको हो ।

मुगुमा हिमपातले जनजीवन कष्टकर 

चिसोबाट बच्न स्थानीयले कोठामा हिटर तथा दाउरा बाल्न थालेका छन् । कर्मचारीलाई कार्यालयमा कामकाज गर्न अप्ठेरो भएको छ ।

माघ महिनाको हिमपातले अत्यधिक चिसो बढेको छायाँनाथ रारा नगरपालिकास्थित रोवा रयाङच्याकाटी गाउँका हस्त नेपालीले बताए ।

एकातिर कोरोना महामारीको डर अर्कोतिर हिमपातले चिसोको डरले बुढापाका दिर्घरोगीलाई गाह्रो भएको उनको भनाइ छ । जिल्लामा यो पटक गरी तेस्रो पटक हिमपात भएको स्थानीयको भनाइ छ ।

लेकाली बस्तीमा पुसमा परेको बाक्लो हिउँ पग्लिन नपाउँदै फेरि हिउँ थपिन थालेपछि स्थानीयलाई हिँड्डुल गर्न, चौपाय चराउन कठिन हुन थालेको छ ।

हिमपात र कोरोना महामारीले गर्दा पर्यटकीयस्थल रारा गत पुस महिना देखि सुनसान बनेको छ । हिमपातका कारण गमगढी-नाग्मा सडक पटकपटक अवरुद्ध हुँदा व्यापारीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समेत गाह्रो भएको छ ।

जिल्लाको एक मात्र रारा विमानस्थलको धावन मार्गमा हिउँ जमेपछि हवाई उडान पनि प्रभावित भएको छ । हिमपातले आइतबार पनि उडान नभएको र सोमबार पनि मुस्किल हुने रारा नागरिक उडड्यन प्राधिकरण कार्यालय प्रमुख विशाल बरुणले जानकारी गराए ।

हिमपातले हवाई उडान प्रभावित हुन थालेपछि मुगुदेखि सुर्खेत, नेपालगञ्ज झर्ने र नेपालगञ्जदेखि मुगु जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन ।

काठमाडौं जान घरबाट विमानस्थल आएको र हिमपातले जहाज नचल्दा तीन दिनदेखि रारा एयरपोर्टमै बस्नु परेको माग्री गाउँका छेवाङ तामाङले बताए ।

प्रकाशित : माघ १०, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?