जिल्ला प्रशासनमै खोप- कर्णाली - कान्तिपुर समाचार

जिल्ला प्रशासनमै खोप

अधिकांश सेवाग्राही खोपकार्डबिनै सेवा लिन आउन थालेपछि जिल्ला प्रशासन कार्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको हो
हरि गौतम

रुकुम पश्चिम — जिल्लाका सबै कार्यालयमा सेवा लिन खोप कार्ड अनिवार्य बनाइएको छ । तर अधिकांश सेवाग्राही खोपकार्डबिनै सेवा लिन आउन थालेपछि जिल्ला प्रशासन कार्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रशासनले खोप लगाएपछि मात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो । 

शुक्रबारदेखि कार्यालयमा खोप लगाउन सुरु गरिएको हो । अहिलेसम्म जिल्ला प्रशासनमा ४५ जनाले खोप लगाएका छन् । सानीभेरी गाउँपालिका–११ का डिलबहादुर खड्काले आइतबार जिल्ला प्रशासन कार्यालयमा खोप लगाए । ‘गाउँमा खोप लगाउन पाइएन,’ उनले भने, ‘खोप लगाउने चाहना त पहिलेदेखिकै हो, अब कोरोना लागे पनि जटिल समस्या हुने छैन ।’

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सर्वसाधारणलाई जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालयबाट पनि खोप दिन थालिएको बताए । ‘खोप कार्ड अनिवार्य गरिएपछि त्यसको फलो गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधारणको खोप पनि नछुटोस्, सेवा पनि पाउन भन्नेमा सबै सरकारी कार्यालय सतर्क छौं ।’ उनका अनुसार कोरोना रोकथामका लागि सरकारले तोकेका सबै मापदण्डको पूर्ण पालनामा कडाइ गरिएको छ ।

जिल्लामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १८ वर्ष माथिका र १२ देखि १८ वर्षसम्म गरी ८५ हजार ४८ जनाले खोपको पहिलो मात्रा लगाएको जिल्ला अस्पतालका सूचना अधिकारी कालीबहादुर ओलीले बताए । उनका अनुसार त्यसमध्ये ६८ हजार ५ सय ८७ जनाले दोस्रो डोज पनि लगाइसकेका छन् । जिल्लामा बुस्टर डोज भने लगाउन थालिएको छैन । सबै खाले खोप जिल्लामा नरहेको र केन्द्रबाट पनि नआएका कारण खोप लाउन ढिलाइ भइरहेको हो ।

सबै सरकारी कार्यालयले खोप लगाएका सेवाग्राहीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे मात्र सेवा प्रवाह गरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । केही दिन अघि सरकारले गरेको निर्णयलाई सकेसम्म पालना गराउन कोसिस गरिरहेको केसीको भनाइ छ । ‘सेवाग्राहीबाट हामीलाई पनि संक्रमण नहोस् र हामीबाट पनि सेवाग्राहीलाई नसरोस् भन्ने गरी सेवाप्रवाह गरिरहेका छौं,’ उनले भने, ‘आइतबारदेखि सबै सेवाग्राहीको खोप कार्ड अनिवार्य बनाइएको छ ।’

प्रकाशित : माघ १०, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

मेरो अभिव्यक्ति व्यक्तिगत रूपमा कसैप्रति लक्षित छैन : मन्त्री यादव

'आगामी दिनमा सचेत रहनेछु'
कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको बताएकी छिन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको बताएकी हुन् ।


माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि नागरिक समूह, विभिन्न राजनीतिक दलले यादवको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरिएको छ ।

मन्त्री यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या गरिएको दाबी गर्दै भनेकी छिन्, 'हाम्रो पार्टीको भातृसंगठन 'समाजवादी यूवा संघ' ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै कसैले पूर्वाग्रहपूर्ण ढंगले आ-आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।'

उनले अगाडि भनेकी छिन्, 'मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो मनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु ।'

आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएको भए दुःख व्यक्त गरेको मन्त्री यादवले बताएकी छिन् । 'साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु,' उनले भनेकी छिन् ।

प्रकाशित : माघ १०, २०७८ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×