१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चिसोमा महिलाले धान्दै हिमाली गाउँ

‘हिउँदको महिनामा गाउँमा खासै काम हुँदैन, चिसोले गर्दा योजनाका कामहरु पनि हुँदैनन्, घरमा बसेर के गर्ने ?’
एलपी देवकोटा

जुम्ला — हिमा गाउँपालिकास्थित चिउडीका ५६ वर्षीया हेमा अधिकारीका श्रीमान् र छोरा दुवै जना व्यापारको सिलसिलामा जिल्ला बाहिर गएका छन् । हिउँदको दुई महिनादेखि उनकी छिमेकी तुला अधिकारी पनि एक्लै घरमा बसिरहेकी छन् ।

चिसोमा महिलाले धान्दै हिमाली गाउँ

उनका पति व्यापारको सिलसिलामा कर्णालीका विभिन्न जिल्लामा डुलिरहेका छन् । एक छोरा काठमाडौंमा व्यापारको सिलसिलामा र अर्का छोरा भारतमा मजदुरीका लागि गएका छन् ।

हिउँदको सुरुवातीसँगै विभिन्न काम खोज्न युवा नेपालगन्ज, सुर्खेतलगायत सहर र भारततिर पसेपछि गाउँहरू खाली बनेका हुन् । हरेक वर्ष मंसिर सुरु हुनेबित्तिकै जुम्लाका पुरुषहरू विभिन्न काममा गाउँ छोड्ने गरेका छन् । अहिले गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्र छन् । तन्नेरी युवाहरू सबै कामको सिलसिलामा जिल्ला बाहिर गएको स्थानीय कृष्णमाया हमालले बताइन् । उनका अनुसार हिउँदका ३/४ महिना पुरुष गाउँमा नभएको बेला सबै काम महिलाले नै धान्ने गरेका छन् । ‘पुरुषहरू आउँदा वर्षभरि पुग्ने पैसा कमाएर ल्याउँछन्,’ उनले भने, ‘उनीहरू आउँदा गाउँमा समृद्धि पनि सँगै आउँछ ।’

अहिले सिंजा क्षेत्रका कनकासुन्दरी, तिला, सिंजा र हिमा गाउँपालिका अहिले पुरुषविहीन बनेका छन् । पातारासी गाउँपालिकाका युवाहरू भने कामका लागि खाडी मुलुकहरूमा पनि जान सुरु भएको छ । ‘सबै पुरुषहरू चैत महिनामा मात्रै गाउँ फर्कन्छन्,’ स्थानीय विष्णु शाहीले भनिन्, ‘तर सबै पुरुषहरू गाउँ छोडेर जाँदा गाउँमा प्रकोपलगायत समस्या आए अप्ठ्यारो पर्छ ।’ गाउँमा हुने विवाह, व्रतबन्धलगायत धार्मिक कार्यहरू पनि महिलाले नै धान्ने गरेको उनको भनाइ छ ।

संघीयतासँगै स्थानीय सरकार र विषयगत कार्यालयहरू गाउँमा आए पनि सबैलाई रोजगारी दिन नसक्दा पुरुषहरू परम्परागत व्यापार गर्न जानुपर्ने बाध्यता भएको स्थानीय अगुवा नर शाहीले बताए । ‘हिउँदको महिनामा गाउँमा खासै काम हुँदैन,’ उनले भनिन्, ‘चिसोले गर्दा योजनाका कामहरू पनि हुँदैनन् घरमा बसेर के गर्ने ?’ उनका अनुसार गाउँका सबै युवाहरू समूह बनाएर जिल्ला बाहिर जाने गरेका छन् । उनी पनि एक साताभित्रै व्यापारका लागि बाहिर जाने तयारीमा छन् ।

एक सातापछि हिउँदे व्यापार गर्न काठमाडौं जाँदै गरेका कनकासुन्दरीका वृष रावतले बताए । ‘हिउँदे व्यापार गरेरै हामी वर्षभरिको खर्चको जोहो गर्छौं,’ उनले भने, ‘हिउँदमा अत्यधिक चिसो हुने भएकाले गाउँमा खेतीपातीलगायत काम पनि हुँदैनन्, घरमा फुर्सदमा बस्नुभन्दा केही पैसा कमाइ हुन्छ कि भनेर जान लागेका छौं ।’ उनले बेरोजगारहरू मात्र नभई स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकहरू पनि चिसो छल्ने जिल्ला बाहिर जाने गरेको बताए ।

प्रकाशित : माघ १०, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?