२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अस्पतालमा थन्कियो साढे २ करोडको उपकरण

विप्लव महर्जन

सल्यान — एक वर्षअघि जिल्ला अस्पतालमा खरिद गरिएको झन्डै साढे २ करोड रुपैयाँको उपकरण थन्किएको छ । दोस्रो चरणको कोरोना महामारीका बेला अस्पतालका लागि झन्डै साढे २ करोड मूल्यमा भेन्टिलेटर र आईसीयूका लागि विभिन्न उपकरण खरिद गरिएको थियो ।

अस्पतालमा थन्कियो साढे २ करोडको उपकरण

दक्ष जनशक्ति अभावमा अस्पतालमा भेन्टिलेटर र आईसीयूका सामग्री थन्किएका हुन् । भेन्टिलेटर र आईसीयू सञ्चालन नहुँदा गम्भीर अवस्थाका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी र भौतिक संरचना अभावमा अस्पतालमा आएका महँगा उपकरण थन्क्याएर राख्नुपरेको जिल्ला स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि २ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको थियो । अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १४ शय्याको आईसीयू सञ्चालनका लागि उपकरणहरू खरिद गरिएको उनले जानकारी दिए ।

कोरोना संक्रमितले उपचारका अभावमा ज्यान गुमाउन थालेपछि कोरोना महामारीको दोस्रो भेरिएन्ट फैलिएका बेला उपकरण खरिद गरी भेन्टिलेटर र आईसीयू जडान थालिएको थियो । जसका लागि २ जना मेडिकल अधिकृत र २ नर्सले तालिम लिए पनि तालिम पर्याप्त नहुँदा भेन्टिलेटर र आईसीयू जडानको काम अलपत्र परेको श्रेष्ठले बताए । स्वास्थ्य सेवा कार्यालयका अनुसार सल्यानमा अहिले झन्डै १ सय सक्रिय संक्रमित छन् ।

गत वर्ष शारदा नगरपालिकाले २ करोड रुपैयाँ खर्च गरी अस्पतालमा आइसोलेसन भवन निर्माण गरेको थियो । त्यसबेला उक्त आइसोलेसन संक्रमितले भरिएपछि उपकरणहरू जडान भएन । अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान भएको छैन ।

प्रकाशित : माघ १०, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?