१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

निर्माण सम्पन्न नहुँदै भत्कियो मुगु कर्णाली पुल

राजबहादुर शाही

मुगु — मुगु–हुम्ला लिंक रोड अन्तर्गत मुगु कर्णाली नदीको भट्टेचौरस्थित रुघा घाटमा निर्माणाधीन बेलीब्रिजको काम नसकिँदै शुक्रबार भत्किएको छ ।

निर्माण सम्पन्न नहुँदै भत्कियो मुगु कर्णाली पुल

डोजरको बकेटले सपोर्ट गर्न खोज्दा धान्न नसकेर बेलीब्रिज भत्किएको जलन रवि चक्र जेबी निर्माण सेवाका प्रोप्राइटर बखतबहादुर मल्लले बताए ।

'काम सकिन ९ मिटर मात्र बाँकी थियो । अब फेरि भत्काएर निर्माण गर्न थप समय लाग्ने भयो,' मल्लले भने ।

५५ मिटर लम्बाइ रहेको उक्त पुल निर्माणका लागि छायाँनाथ रारा नगरपालिकाले ५ करोड ३० लाख बजेट बिनियोजन गरी ठेक्का दिएको थियो । तर निर्माण सम्पन्न हुनै लाग्दा भत्किँदा यसबारे अनुसन्धान गरिएको छैन ।

कसरी भत्कियो भन्नेबारे पनि इन्जिनियर लगायत प्राविधिकबाट आधिकारीक जानकारी आएको छैन । बेलीब्रिज भत्किँदा फेरि पाटपुर्जा खोलेर निर्माण गर्नु पर्ने अवस्था आएको नगर प्रमुख हरिजंग शाहीले बताएका छन् ।

शुक्रबार निर्माणाधीन बेलीब्रिज भत्किएपछि शनिबार बिहानै आयोजना स्थलमा पुगेर के कारणले पुल भत्किएको भनेर अनुगमन गरेर ठेकेदारलाई चाँडो निर्माण गर्न ताकेता गर्ने नगर प्रमुख बताउँछन् ।

ग्रामीण पहुँच कार्यक्रमले मुगु हुम्ला लिङ्क रोड निर्माण कार्य पूरा गरिसकेको र मुगु कर्णाली नदीको भट्टेचौरमा बेलीब्रिज बनाउने काम नगरले गरिरहेको थियो ।

कर्णाली नदीको भट्टेचौरमा बेलीब्रिज नहुँदा मुगु हुम्ला सवारी साधन संचालन गर्न खाद्यवस्तु विकास निर्माणका सामग्री मुगु हुम्ला ढुवानी गर्न कठिन भएको छ ।

प्रकाशित : माघ ८, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?