कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय तहद्वारा १२ सय किमि सडक

रुकुम पश्चिम, दैलेख — स्थानीय तह गठनपछि रुकुम पश्चिममा झण्डै १ हजार २ सय किलोमिटर सडक निर्माण भएको छ । जिल्लाका ६ वटै स्थानीय तहले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी सडक निर्माण गरिरहेका छन् ।

स्थानीय तहद्वारा १२ सय किमि सडक

स्थानीय तहको निर्वाचनपछि मुसीकोट नगरपालिकामा २ सय ५५ किलोमिटर सडक निर्माण भएको छ । नगरपालिकाभित्र ३ सय ५५ किलोमिटर सडक भए पनि स्थानीय तह गठनपछि झण्डै १ सय सडक निर्माण गरिएको नगरपालिकाका इन्जिनियर पहलबहादुर पुनले बताए । उनका अनुसार नगरभित्र राप्ती लोकमार्ग र मध्यपहाडी लोकमार्ग पनि छन् । नगरपालिकाभित्र ५२ किलोमिटर सडक कालोपत्रे गरिएको उनले जानकारी दिए । चौरजहारी नगरपालिकामा २ सय २७ किलोमिटर कच्ची सडक बनेको छ । नगरपालिकामा करिब ११ किलोमिटर सडक कालोपत्रे भएको छ भने साढे ३२ किलोमिटर सडकको ग्राभेल भएको छ । स्थानीय तह गठनपछि झण्डै ३० किलोमिटर सडकको ट्रयाक खोलिएको छ ।

आठबीसकोट नगरपालिकामा २ सय ३५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचनपछि मात्रै यो सडक निर्माण भएको हो । नगरमा १४ किलोमिटर सडक ग्राभेल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । उनका अनुसार सडक ग्राभेलको काम भने कर्णाली प्रदेश सरकारले गरेको हो । बाँफिकोट गाउँपालिकामा १ सय ४५, त्रिवेणीमा १ सय ५७ र सानीभेरी गाउँपालिकामा १ सय ५२ किलोमिटर सडक निर्माण गरिएको छ । त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले २०७३ सालपछि सडक निर्माणले गति लिएको बताए । ‘तुलनात्मक रुपमा प्रदेश र संघीय सरकारको बजेट सडकमा कमै छ,’ उनले भने, ‘सबै वडा, टोल र बस्तीमा सडक पुर्‍याउने गरी निर्माणलाई तीव्रता दिएका हौं ।’

सबैतिर सडक निर्माणको काम तीव्र भए पनि ३ वडामा भने अहिलेसम्म पनि सडक पुगेको छैन । जिल्लाका ७३ वडामध्ये ७० वडा सडक सञ्जालमा जोडिएका छन् । आठबीसकोट नगरपालिकाको १ र २ तथा बाँफिकोट गाउँपालिकाको १० नम्बर वडामा सडक अझै नपुगेको हो । यो वर्ष नै १० नम्बर वडामा सडक पुग्ने गरी कामलाई तीव्रता दिइएको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । यो वर्ष २ करोडको बजेटबाट काम भइरहेको र यसै वर्षभित्र सबै वडा सडक सञ्जालमा जोडिने उनको भनाइ छ । ‘ठूलो पहर र चट्टान लागेका कारण सडक निर्माणमा ढिलाइ भएको हो,’ उनले भने, ‘अब १० नम्बर वडा सडकमा जोडिन ३ सय मिटरजति मात्रै बाँकी छ ।’

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले १ र २ नम्बर वडा पनि यही वर्षमा सडक सञ्जालमा जोडिने बताए । ‘२ मा त सडक निर्माण लगभग भइसकेको छ,’ उनले भने, ‘१ मा पनि सडक निर्माणको काम थालिएको छ ।’ उनका अनुसार १ नम्बर वडामा सडक निर्माण गर्न नगरपालिका आफैले हेलिकोप्टरमार्फत डोजर ढुवानी गरेको छ । सोही डोजरले १ र २ नम्बर वडा जोड्ने गरी सडक निर्माण गरिरहेको हो ।

दैलेखका ११ वटै स्थानीय तह सडक संञ्जालसँग जोडिएका छन् । ११ स्थानीय तहका ९० वडामा सडकको संञ्जाल पुगेपछि स्थानीयले घरआगनीबाटै सडक सुविधा पाएका छन् । सडक सुविधा पुगेपछि सदरमुकाम र जिल्लाबाहिरको आउजाउमा सहजता आएको छ भने स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँमा सडक सुविधा पुगेसँगै सदरमुकाम पुग्न ३ दिनको पैदल हिँड्नुपर्ने बाध्यता हटेको ठाँटीकाध गाउँपालिका–५ की सैना बुढाले बताइन् । उनका अनुसार गाउँलाई स्थानीय सडकले मात्र जोडेको छैन गाउँमाथि मध्यपहाडी र तलबाट कर्णाली राजमार्ग जोडिएको छ । ‘दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज बन्यो, गाउँको उत्पादनले पनि बजार पाएको छ,’ उनले भनिन्, ‘अहिले त सदरमुकामको मुल्यमै सामान पाइन्छ, जिल्ला बाहिर जान पनि आफ्नै आगनबाट गाडी चढ्न थालेका छौं ।’ सडकले वर्षौदेखिका विभिन्न सास्तीबाट मुक्ति पाइएको उनले बताइन् ।

प्रकाशित : माघ ७, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?