१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

खेतीयोग्य जग्गामा धमाधम बजार

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–२ पुतलीबजारका दोर्णबहादुर केसीको घर आसपास एक दशकअघिसम्म लहलह धान झुल्थे । ५ जनाको परिवारले वर्षभरि पुग्ने धान उत्पादन गरी उनले वार्षिक १५/२० मुरी धान बिक्री गर्थे । उनको ७ रोपनी जग्गामा आजभोलि धमाधम घर बजिरहेका छन् । ‘सडक आएसँगै पैसाको लोभमा खेतलाई घडेरीका रूपमा बेच्नुपर्‍यो,’ उनले भने, ‘अहिले बाहिरबाट आएको चामल उपभोग गर्नुपर्ने बाध्यता छ ।’ उनको जग्गामा अहिले झन्डै २० घर बनिसकेका छन् ।

खेतीयोग्य जग्गामा धमाधम बजार

बन्गाडकुपिण्डे नगरपालिका–१० ढोरपिपलका नन्दकुमार घर्तीले पनि भाउ पाएपछि झन्डै ६ रोपनी खेत घडेरीका रूपमा बिक्री गरिसकेका छन् । ‘बजार विस्तार हुँदै जाँदा पैसाको लोभ लाग्यो,’ उनले भने, ‘अब त यहाँ पनि खेती हुन्थ्यो र भन्ने भइसकेको छ ।’ उनको जग्गामा पनि झन्डै १५ घर निर्माण भइसकेका छन् ।

जिल्लाका १० स्थानीय तहका केन्द्रहरू धमाधम व्यापारिक केन्द्र बन्ने क्रम बढिरहेको छ । एक दशकअघिसम्म जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने खलंगाको श्रीनगर, देवस्थलको सल्लीबजार, त्रिवेणीको लुहाम, थारमारे, बाबियाचौरमा धमाधम घर बन्ने क्रम बढेको छ । ४ वर्षमा जिल्लाभरि झन्डै १ हजार हेक्टर खेतीयोग्य जग्गा मासिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सबैभन्दा बढी शारदा नदी र राप्ती राजमार्ग आसपासका क्षेत्रमा धर बन्ने क्रम बढिरहेको छ । लेकका बस्तीबाट मानिसहरू सुविधा खोज्दै बेंसीतिर झर्दा २०३६ मा पुतलीबजारमा बस्ती बसेको हो ।

दाङको तुलसीपुरबाट सल्यान खलंगासम्म २०४९ मा सडक विस्तार भएपछि खेतीयोग्य जग्गा मासिने क्रम सुरु भएको कालीमाटी गाउँपालिका–२ का धनबहादुर खत्रीले बताए । उनका अनुसार खेतीयोग्य जग्गा मासिँदा आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने परिवारहरू पनि बाहिरको खाद्यान्नको भर पर्नुपरेको छ । उनले एक दशकअघिसम्म ५० मुरी (२५ क्विन्टल) धान उत्पादन गर्थे । झन्डै ६ रोपनी जग्गा बिक्री गरेका उनले अहिले एक रोपनी जग्गामा १० मुरीमात्र धान उत्पादन गर्छन् ।

प्रकाशित : माघ ७, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?