१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमाली जिल्लामा फैलिँदै लागूऔषध

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध कारोबार गरिरहेको अवस्थामा आइतबार प्रहरीले १० जनालाई पक्राउ गर्‍यो । त्यसको २ दिन नबित्दै मंगलबार ८ जना पक्राउ परे । प्रहरीले नियन्त्रणमा लिएकाहरू २२ वर्षदेखि ३० वर्ष उमेर समूहका छन् । उनीहरूले प्रहरीसँगको बयानमा कर्णालीका हिमाली जिल्लाहरूमा लागूऔषध पठाउने गरेको बताएका छन् ।

हिमाली जिल्लामा फैलिँदै लागूऔषध

आइतबार पक्राउ परेकी २५ वर्षीया एक युवतीले श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि २ वर्षदेखि लागूऔषध कारोबारमा संलग्न भएको बताइन् । उनकी ५ वर्षीया छोरी पनि छिन् । ‘केही समय यौन व्यवसायमा संलग्न भए, तर त्यसले परिवारको खर्च धान्न मुस्किल भयो,’ उनले भनिन्, ‘छोरी र मेरो पेट पाल्न अरू कुनै विकल्प देखिन ।’ उनले कर्णालीका हिमाली जिल्लाहरू कालीकोट, मुगु, जुम्लामा लागूऔषध पठाइरहेको बताइन् । लागूऔषधबाट मोटो रकम आउने भएकाले अरू काम छोडेर भारतीय सहर रुपैडिया पुगेर चोर बाटो हुँदै लागूऔषध ल्याउने गरेको उनले बताइन् ।

तराईका विभिन्न जिल्लाबाट हिमाली जिल्लाहरूमा लागूऔषध गाउँगाउँमा पुगेको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । उनका अनुसार लागूऔषधका कारण चोरी, घरलु हिंसा, लुटपाट, सम्बन्धविच्छेदलगायत घटनाहरू बढ्दै गएका छन् । ‘पछिल्लो समय गाँजा र चरेससँग ब्राउनसुगर साटफेर हुन थालेको छ,’ उनले भने, ‘हिमाली जिल्लाहरूबाट गाँजा र चरेस जान्छ, उताबाट ब्राउनसुगर ।’

रुपैहियाबाट आउने ब्राउनसुगर सुर्खेत हुँदै हिमाली जिल्लामा गइरहेको प्रहरीको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०७६ सालयता लागूऔषध कारोबारमा संलग्न २ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा लागूऔषध र यौन व्यवसायको जालो भित्रभित्रै फैलिरहेको जिल्ला प्रहरी प्रमुख एसपी पदम विष्टले बताए । ‘एउटै व्यक्ति दुवै व्यवसायमा संलग्न भएका धेरै उदाहरण छन्,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि घरघरै लागूऔषध प्रयोगकर्ता भेटिन थालेका छन् ।’ उनले लागूऔषध कारोबारमा पछिल्लो समय महिला संख्या बढ्दै गएको जनाए ।

अहिले वीरेन्द्रनगरका तरकारी तथा फलफूल पसल, पान पसल, मेडिकल, होटल, रेस्टुरेन्टलगायत स्थानबाट लागूऔषधको कारोबार हुने गरेको प्रहरीको तथ्यांक छ । ‘ब्युटिपार्लरका केही महिलाहरू पनि यसको सप्लाईकर्ताको रूपमा फेला परेका छन्,’ एसपी विष्टले भने, ‘कमाइ राम्रो हुने भएपछि क्याम्पसका विद्यार्थीहरूले पनि लागूऔषध कारोबारलाई सहायक पेसा बनाएको भेटियो ।’ सुर्खेत प्रहरीले आर्थिक वर्ष २०७६/७७ मा ९०, २०७७/७८ मा ७८ र २०७८/७९ मा ६४ जनालाई लागूऔषध कारोबार मुद्दा चलाएको छ । कारोबारीबाट यो वर्ष सबैभन्दा बढी २ सय ३९ ग्राम ब्राउनसुगर र १ हजार ८ सय ५७ मिलिग्राम चरेस बरामद गरिएको उनले जानकारी दिए । प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश ऐरले कोरोना महामारीका कारण पनि लागूऔषधको कारोबार ह्वात्तै बढेको बताए । उनका अनुसार पछिल्लो समय परिवारमा राम्रो सम्बन्ध नहुँदा र अभिभावकले आफ्ना सन्तानको गल्ती ढाकछोप गर्दा पनि किशोरकिशारीहरू कुलतमा फसेका छन् । ‘लागूऔषधको कुलतमा फस्नुको पहिलो कारण बेरोजगारी नै हो,’ उनले भने, ‘१५ देखि ४५ वर्ष उमेर समूहको ठूलो जमात यसको कारोबारमा संलग्न छ ।’

प्रकाशित : माघ ६, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?