१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुलले छोटियो दूरी, हट्यो जोखिम

सल्यान — बन्गाडकुपिण्डे–१ माल्पेका मेघबहादुर साहु नगरपालिकाको केन्द्र सल्लीबजार जाँदा जहिले पनि जोखिम उठाउँदै बन्गाडखोला तर्न बाध्य हुन्थे । २ वर्षअघि वर्षायाममा खोला तर्दा झण्डै २ मिटर तल बगेका उनले जसोतसो ज्यान बचाए । ‘हेर्दा सानो भए पनि खोलामा पानीको बहाव उच्च छ,’ उनले भने, ‘वर्षायाममा त ज्यानकै बाजी राखेर खोला तर्नुपर्ने बाध्यता थियो ।’

उनका छिमेकी पूर्णबहादुर विकको एक हल गोरु गत वर्ष बन्गाडखोलामा आएको बाढीले बगाएको थियो । उनको खेत पुग्न खोला तरेर जानुपर्छ । ‘गोरु नै बाढीले बगाएपछि गत वर्ष खेत नै बाँझो राख्नुपर्‍यो,’ उनले भने, ‘वर्षाको समयमा बालबालिका र ज्येष्ठ नागरिकलाई बाहिर पठाउनै समस्या थियो ।’

बन्गाडकुपिण्डे नगरपालिका–१ स्थित बन्गाडखोलामा झोलुंगे पुल बनेपछि जोखिम मात्र हटेको छैन नगरपालिकाको केन्द्रसँग विभिन्न गाउँहरु जोडिएका छन् । खोला तर्दा स्थानीयले विभिन्न सास्ती भोग्न थालेपछि पूर्वाधार विकास कार्यालयले ६६ लाख रुपैयाँ बजेटबाट पुल निर्माण गरेको हो । जसमा शारदा संस्थाले ६ लाख १९ हजार रुपैयाँ थप गरेको थियो ।

पुल बनेपछि बाग्चौर, माल्पे र खहरेखोलाका झण्डै ४ सय परिवार लाभान्वित भएका छन् । सल्लीबजारका विभिन्न सामुदायिक विद्यालयमा पढ्दै आएका करिब ५० बालबालिकालाई पनि पुलले सुविधा दिएको छ । पुल बनेपछि बाह्रै महिना आउजाउ सहज भएको माल्पेका कर्णबहादुर रोकायले बताए । ‘वर्षाका ३ महिना त आसपासका गाउँमा जानै सास्ती थियो,’ उनले भने, ‘गाउँमा कोही बिरामी भएमा रातिको समयमा अस्पताल पुर्‍याउन धेरै कठिन थियो ।’

प्रकाशित : माघ ६, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?