कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलीय भागबन्डा नमिल्दा कर्णाली मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता 

मुख्यमन्त्री शाहीले गत कात्तिक १६ गते पद सम्हालेका थिए । त्यसयता दुई पटक गरेर दुई जना मन्त्री मात्रै नियुक्त गरेका छन् ।
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली दलीय भागबन्डा नमिलेकाले नयाँ सरकार गठन भएको तीन महिनासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्दा पनि जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन असफल भएका छन् । 

दलीय भागबन्डा नमिल्दा कर्णाली मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता 

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले चार वटा मन्त्रालयको दाबी कायमै राखेकाले सत्ता गठबन्धनबीच सहमति हुन नसकेको हो । मंगलबार वीरेन्द्रनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले पूर्वसहमतिअनुसार चार वटा मन्त्रालय आफूले पाउनुपर्ने दाबी नछोड्ने निर्णय गरेको हो ।

गठबन्धनमा आफूहरु नै सबैभन्दा ठूलो दल रहेकोले सम्मानजनक उपस्थिति हुनुपर्ने माओवादीको अडान छ । प्रमुख सचेतक ठम्मर विष्टले आफ्नो दलले गरेको दाबी स्वभाविक भएको बताए । उनले अरु दल पनि यसै सहमतिमा आउनेमा पनि विश्वास व्यक्त गरे ।

यसैबीच, संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अबको एक हप्तामा सरकारलाई पूर्णता दिने गरी छलफल चलाउने भएको छ । गठबन्धनका दलहरुबीच नै असमझदारी बढ्दै गएको समयमा माओवादीले सरकार विस्तारका लागि पहल गर्ने निर्णय गरेको हो ।

‘पछिल्लो समय सरकारले पूर्णता नपाउँदा सत्ता गठबन्धनभित्रै केही असमझदारी जस्तो देखिएको छ वास्तविक त्यस्तो होइन,’ प्रमुख सचेतक विष्टले भने, ‘राष्ट्रिय सभाको चुनाव पनि नजिकिएको छ योजना कार्यान्वयनका विषय पनि धेरै छन् । त्यसैले गठबन्धन नै ती योजनामा कसरी लाग्ने भन्नेमा हाम्रो दल जिम्मेवार छ ।’

मुख्यमन्त्री शाहीले गत कात्तिक १६ गते पद सम्हालेका थिए । त्यसयता दुई पटक गरेर दुई जना मन्त्री मात्रै नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट चन्द्रबहादुर शाही र नेकपा (माओवादी केन्द्र)कातर्फबाट बिन्दमान विष्ट मन्त्री छन् । आठ सदस्यीय मन्त्रिमण्डलका पाँच मन्त्रालय भने रिक्त छन् । ती मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।

गठबन्धनका दलहरुबीच कसले कतिवटा मन्त्रालय लिने भन्ने विषयमा भागबन्डा हुन सकेको छैन । माओवादीले चार मन्त्रालयको दाबी गरिरहँदा समाजवादीले तीन मन्त्रालयको दाबी छोडेको छैन । कांग्रेसले पनि मुख्यमन्त्रीबाहेक थप दुई मन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?