एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध- कर्णाली - कान्तिपुर समाचार

एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

राजबहादुर शाही

मुगु — नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लसहित समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुका जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेश सह-इन्चार्ज मोहन बानियाँले बताए ।

गत पुस २७ गते उद्घाटन भई बन्दसत्र सुरु भएको एमाले अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति खोज्दै एक सातापछि बल्ल नयाँ पदाधिकारीको पूर्णता पाएको बानियाँको भनाइ छ ।

जाडो मौसममा अधिवेशन लम्बिँदै जान थालेपछि सहमति वा निर्वाचन गराएर यथाशक्य छिटो नेतृत्व चयन गराउन सोमबार कर्णाली प्रदेश कमिटी सदस्य राजु कार्की काठमाडौंदेखि जिल्ला पुगेका थिए ।

विगत लामो समयदेखि एमालेमै रहेर जिल्लास्तरमा सक्रिय राजनीति गर्दै आएका मल्ल अहिले फेरि अध्यक्ष पदमा चयन भएका हुन् । पुस २३ गते तोकिएको एमालेको जिल्ला अधिवेशन हिमपात र वर्षात्‌ले गर्दा पुस २७ गते सारिएको थियो ।

प्रकाशित : माघ ४, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

रासस

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शाहव आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ८४ रनको योगदान दिए । यस्तै लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए ।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए । फाइनल खेल एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमतीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।


प्रकाशित : माघ ४, २०७८ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×