सल्यानमा घटेन शिशु मृत्युदर

विप्लव महर्जन

सल्यान — सरकारले नवजात शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम गर्दैआए पनि सल्यानमा भने नवजात मृत्युदर घटेको छैन । सुत्केरीपछि स्याहारमा र अस्पताल तथा स्वास्थ्यसंस्थामा नियमित स्वास्थ्य परीक्षणमा परिवारले ध्यान नदिँदा नवजात शिशु मृत्युदर नघटेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् ।

सल्यानमा घटेन शिशु मृत्युदर

स्वास्थ्य कार्यालय सल्यानको तथ्यांकअनुसार २०७५/०७६ मा ९, ०७६/०७७ मा १८, ०७७/०७८ मा १५ जनाको मृत्यु भएको छ भने यसै वर्ष सुरु भएयता तीन जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम गर्दै आए पनि जनचेतनाको अभावमा सुत्केरी भएपछि तीन पटक स्वास्थ्य परीक्षण गराउनुपर्नेमा अधिकांशले परीक्षण गराउन छाडेकै कारण नवजात शिशुको मृत्युदर बढिरहेको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए ।

जिल्लाको भौगोलिक विकटताका कारण सुत्केरी भएपछि सहजै स्वास्थ्यसंस्थामा स्वास्थ्य परीक्षण गराउन नसकेको उनले जानकारी दिए । उनका अनुसार महिला सुत्केरी भएपछि अस्पताल तथा स्वास्थ्य संस्थामा गएर तीन पटक आमा र बच्चाको जाँच गर्नुपर्ने हुन्छ । गतवर्षको तथ्यांक हेर्दा १६ प्रतिशतले मात्र यसरी नियमित जाँच गरेका छन् ।

समयमै जाँच नगर्नु र लापरबाही गर्नु नै नवजात शिशु मृत्युदरको मुख्य कारण भएको उनको भनाइ छ । डिसीका अनुसार नवजात शिशुको मृत्युदर नघटेपछि हाल जिल्लाका १० स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएर सुत्केरी भएका महिलाको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाएको छ ।

जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डा. असिम प्रजापतीले नवजात शिशु मृत्युदर घट्न नसक्नुको मुख्य कारण जनचेतनाको अभाव र बालविवाह रहेको बताएका छन् ।

गर्भवती अवस्थामा खानपिनमा ध्यान नदिँदा जन्मिएका बच्चा कम तौलका, ख्याउटे हुने र रोगसँग लड्न सक्ने क्षमता कम हुने गरेकाले समस्या बढेको उनी बताउँछन् । उनका अनुसार मृत्यु भएका अधिकांश नवजात शिशुमा निमोनिया, झाडापखाला लगायत समस्या देखिएका छन् ।

सुत्केरी अवधिमा खानपिनमा ध्यान नदिँदा पनि अधिकांश साना बालबालिकामा कुपोषणको समस्या देखिएको उनले बताए । यस्तै बालविवाह रोक्न सकेमा बाल मृत्युदर पनि रोक्न सकिने उनको भनाइ छ ।

यस्तै सुत्केरीलाई घरमा सघाउने व्यक्तिको अभाव, भौगोलिक विकटता र नजिकै स्वास्थ्यसंस्था नभएका कारण केही महिलाहरू अझै असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेको र जसले गर्दा नवजात शिशु बढी जोखिममा पर्दैआएको बताइन्छ ।

‘आर्थिक अवस्था कमजोर भएका अधिकांश घरका पुरुषहरू रोजगारीका शिलशिलामा खाडी मुलुक तथा भारतका विभिन्न ठाउँमा गएका छन् । घरमा महिला तथा स-साना बालबालिका छन् । बिरामी भएमा अस्पताल समयमै जान सक्दैनन् । जसकारण समयमै उपचारबाट वञ्चित हुने गरेका छन् । यसले पनि समस्या निम्त्याएको छ‚’ बाग्चौर नगरपालिकाका स्वास्थ्य संयोजक हरि कठायतले बताए ।

नवजात शिशु मृत्युदर कम गर्न पालिकास्तरबाट सक्दो प्रयास भइरहेको र आउँदा दिनमा स्वास्थ्यसंस्थामा स्वास्थ्य परीक्षण गर्न आउन नसक्ने सुत्केरीलाई घरमै गएर सेवा दिने व्यवस्था मिलाउन थालिएको बताएका छन् । गर्भवती भएका अधिकांशलाई प्राथमिक स्वास्थ्य केन्द्र थारमारेले सञ्चालन गरेको प्रसूति गृह तथा केही जटिल समस्या देखिएकालाई जिल्ला अस्पताल पुर्‍याएर दक्ष डाक्टर तथा स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउँदै आएको उनले जानकारी गराए ।

प्रकाशित : माघ ३, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?