ठूला प्रतियोगिता हुन थालेपछि खेलाडी उत्साहित

हरेक पालिकामा कुनै न कुनै अवसरमा खेलकुद प्रतियोगिता भइरहेका छन्
हरि गौतम

रुकुम पश्चिम — कात्तिक १२ देखि १५ गतेसम्म सदरमुकाम खलंगामा विविध खेलकुद प्रतियोगिता भए । ४ दिनसम्म जिल्ला खेलकुद विकास समितिले महिला तथा पुरुष भलिबल र पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । यही प्रतियोगिता नै कोरोनापछिको जिल्लाको ठूलो प्रतियोगिता थियो ।

कोरोनाका कारण ठप्प खेलकुद क्षेत्र यी प्रतियोगितापछि धेरै चले । त्यस अघि पनि फाट्टफुट्ट खेलकुद भइरहेको जिल्लामा ठूला राशीका प्रतियोगिता पनि हुन थालेका छन् । पछिल्लो पटक जिल्ला भलिवल संघले राष्ट्रव्यापी बिच भलिबल प्रतियोगिता सकाएको छ । पुस १ देखि ४ गतेसम्म सदरमुकाम खलंगामै भएको महिला तथा पुरुषबीच भलिबलमा रुकुम पश्चिमसहित दाङ, बागलुङ, सल्यानलगायत जिल्लाका ३७ टिम सहभागि थिए ।

कोरोनाका कारण लामो समय सुनसान खेलकुद क्षेत्र २ महिनायता चलायमान भएको क्रिकेट संघका सचिव मनीष खड्काले बताए । उनका अनुसार २ महिनायता मात्रै साना ठूला गरी २ दर्जन खेलकुद प्रतियोगिता सञ्चालन भइसकेका छन् । महिला तथा पुरुष भलिबल, ब्याडमिन्टनलगायत प्रतियोगिता जिल्लाभरि चलिरहेको उनले जानकारी दिए ।

भलिबल खेलाडी महेश परियारले कात्तिकयता ६ वटा प्रतियोगिता खेलिसके । लामो समयपछि खेलकुद क्षेत्र सक्रिय भएकामा उनी दंग छन् । उनी जिल्लाका पुराना र अनुभवी खेलाडी मानिन्छन् । ‘कोरोनाका कारण अब खेलकुद हुन्छ हुन्न भन्ने अवस्था आइसकेको थियो,’ उनी भन्छन् ‘कोरोनापछिका खेलकुद उत्साहपूर्ण छन्, खेलाडीलाई प्रेरणा दिने गरी खेलकुद क्षेत्र क्रियाशील भएको छ ।’

जिल्लामा ६ वटा पालिका छन् । हरेक पालिकामा कुनै न कुनै अवसरमा खेलकुद प्रतियोगिता भइरहेका छन् । आठबीसकोट नगरपालिकामा २ लाख राशिको ठूलो भलिबल प्रतियोगिता सम्पन्न भयो । सानीभेरी गाउँपालिका आफैले पनि बेलटापु मेलामा एक लाख बढी राशिको भबिलल, ब्याडमिन्टन र क्रिकेट प्रतियोगिता यही बीचमा सम्पन्न गरेको छ । बाँफिकोट गाउँपालिकाले ६ नम्बर वडाको मग्मामा प्रतियोगिता गरायो । मुसिकोट, चौरजहारी र त्रिवेणी गाउँपालिकाका वडा कार्यालय तथा क्लबहरूले पनि विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेका छन् । लामो समयपछि खेलकुद क्षेत्र सक्रिय हुँदा खेलाडीको भेट हुने र क्षमता विकास हुने गरी गतिविधि बढिरहेको ब्याडमिन्टन खेलाडी विशाल विष्टले बताए । ‘सरकारी तथा अन्य निकायबाट पनि खेल क्षेत्रलाई टेवा पुग्ने गरी विभिन्न खेलकुद प्रतियोगिता भइरहेका छन्,’ उनले भने, ‘यसले हामीलाई हौसला नै दिइरहेको छ ।’

पछिल्लो पटक निराश खेल क्षेत्र अब आशावादी बनेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले बताए । उनका अनुसार तेक्वान्दोको जिल्ला छनौटको कार्यक्रम तय भइसकेको छ । ‘अर्को महामारी आए भन्न सकिन्न नत्र जिल्लामा खेल क्षेत्रको अवस्था पहिलाको भन्दा राम्रो बनिसकेको छ,’ उनले भने ‘यसले खेलाडी, खेल क्षेत्र, खेलप्रेमी सबैलाई उत्साह थपिदिएको छ ।’

प्रकाशित : माघ ३, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?