२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्थानीय पाठ्यक्रममा विद्यार्थीको अरुचि

एलपी देवकोटा

जुम्ला — जुम्लाका सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारे पनि विद्यार्थीले पढ्न नमान्ने समस्या देखिएको छ । स्थानीय तहहरूले पाठ्यक्रम तयार पारे पनि त्यसका आधारमा पाठ्यपुस्तक तयार नगर्दा विद्यार्थीले रुचि नदेखाएका हुन् । 

स्थानीय पाठ्यक्रममा विद्यार्थीको अरुचि

संघीय व्यवस्था सुरु भएपछि स्थानीय सरकारहरूले आफ्नो क्षेत्र भित्रका विद्यालयहरूमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार पारिसकेका छन् ।

जिल्लामा सबैभन्दा पहिला तातोपानी गाउँपालिकाले खस भाषामा स्थानीय पाठ्यक्रम तयार पारेको थियो । पछिल्लो समयमा आधुनिक संस्कृति र सभ्यताको विकास भइरहेका बेला लोपन्मुख परम्परागत भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि पाठ्यक्रम तयार गरिएको हो ।

खस भाषामा तयार गरिएको पाठ्यक्रम अहिले प्राथमिक तहमा मात्रै लागू गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

‘पाठ्यक्रममा यहाँका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि, धार्मिक सम्पदालगायतका विषयहरू समेटिएका छन्,’ उनले भने, ‘पुर्खाहरूको गौरवगाथा सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ, सबै विद्यालयमा अनिवार्यसाथ पठनपाठन गराउन निर्देशन दिइएको छ ।’ तर शिक्षकहरूले भने विद्यार्थीहरूले पढ्न नमान्ने गरेको बताउँछन् । ‘पालिकाले राम्रै नियतले पाठ्यक्रम तयार गरेको हो,’ एक शिक्षकले भने, ‘सुरु सुरुको भएकाले होला, अरु विषयभन्दा कम आकर्षण छ ।’ उनले अरु विषयभन्दा स्थानीय विषयमा विद्यार्थीको सिकाइस्तर र नतिजा कमजोर रहेको बताए ।

कक्षा ५ मा अध्ययनरत कालिका न्यौपानेले नयाँ र जटिल विषय समावेश गरिएकाले स्थानीय पाठ्यक्रम अप्ठ्यारो भएको बताइन् । ‘हाम्रै रहनसहन र रितीरिवाज समेटिए पनि भाषा अप्ठ्यारो छ,’ उनले भनिन्, ‘माथिल्लो कक्षामा पनि नपढाइने भएकाले पनि सानो कक्षामा मात्रै पढ्न मन लागेन ।’

तर विद्यार्थीले भने अझै स्थानीय पाठ्यक्रमलाई सहज रुपमा लिन नसकेको स्थानीय अभिभावक नरसिंह धामीले बताए । ‘खस भाषामा स्थानीय रहनसहन र स्थानीय कथाबस्तु समेटेर पुस्तक त बनाइएको छ,’ उनले भने, ‘तर नयाँ विषय भएकाले विद्यार्थीले एसेप्ट गर्न केही समय लाग्ने देखियो ।’ एक स्थानीय तहले तयार गरेको पाठ्यक्रमलाई अर्कोले ‘कपीपेस्ट’ गरेकाले पनि प्रभावकारिता न्यून भएको उनको बुझाइ छ ।

प्राथमिक तहमा मात्र पाठ्यक्रम सीमित नगरी माध्यमिक तहसम्म स्थानीय पाठ्यक्रम बनाइए संघीयताका अभ्यासहरूले सार्थकर्ता पाउने उनी बताउँछन् ।

खस भाषा र जुम्लाको इतिहासको संरक्षणका लागि खस भाषाको पाठ्यक्रम लाभदायिक हुने वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरीबावु चौलागाईले बताए । ‘खस भाषामा आधारित पाठ्यक्रमले पुराना संस्कार र संस्कृतिको संरक्षण गर्नुका साथै पुर्खाहरूको राम्रो कामको अनुशरण गर्न सक्ने देखिन्छ,’ उनले भने, ‘जुम्लाका धार्मिक, पर्यटन, कृषि र जडीबुटीलाई पाठ्यक्रममा समावेश गरिएको छ, तर नयाँ भएकाले विद्यार्थीलाई सिकाउन भने केही गाह्रो देखियो ।’

अतिरिक्त विषयका रूपमा स्थानीय तहहरूले नयाँ पाठ्यक्रम तयार पारेका हुन् । स्थानीय तहहरूले कक्षा १ देखि ३ सम्म एउटा र कक्षा ४ र ५ का लागि अर्को पाठ्यक्रम तयार गरेका छन् ।

आफ्नो भूगोल र पहिचानबमोजिमको पाठ्यक्रम निर्माण गर्न पाउने अधिकार पाएकाले दस्ताबेजका रूपमा प्रकाशन गरिएको चन्दननाथ नगरपालिकाकास्थित शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।

‘खस भाषामा पठनपाठन गरिनुपर्ने आवाज पटकपटक तत्कालीन जिल्ला शिक्षा कार्यालयमा उठ्ने गरेको थियो, तर त्यसलाई कार्यान्वयन गर्न सकिएको थिएन,’ उनले भने, ‘खस भाषा गाउँमा बोलीचालीमा रहे पनि लिपिबद्ध गर्न सकेका थिएनौं, अहिले पाठ्यपुस्तक नै छापेर विद्यालयमा पठनपाठन गराइरहेका छौं ।’

प्रकाशित : माघ २, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?