२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रोल्पामा कोरोना रोक्न सतर्कता, सिमानामा कडाइ

काशीराम डाँगी

रोल्पा — कोरोना संक्रमण बढ्न थालेपछि रोल्पास्थित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सचेतना फैलाउँदै जिल्ला प्रवेश गर्ने नाकाहरूमा जाँच बढाउने भएको छ ।

केन्द्रका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नयाँ भेरिएन्ट फैलनसक्ने भएकाले रोकथामका लागि स्थानीय तहसँग समन्वय गरेर योजना बनाउने बताए । ‘जिल्लामा भित्रिने नाकाहरूका जाँच प्रणाली राख्ने तथा यातायातका साधनमा सवार गर्दासमेत ध्यान पुर्‍याउने गरी नयाँ योजना अघि सारिएको छ,’ उनले भने ।

सरकारले जारी गरेको सूचना अनुसार रोल्पाका अधिकांश तहमा विद्यालय बन्द भइसकेका छन् । बजार, सहर तथा गाउँमा समेत भीड नगर्न प्रशासनले निर्देशन जारी गरेको छ ।

रोल्पा प्रवेश गर्ने मुख्य तीन नाका छन् । पूर्वमा प्युठान हुँदै खुङ्ग्री, दक्षिणको दाङ हुँदै होलेरी र दक्षिण पश्चिमको सल्यान हुँदै निगालपानीबाट यातायातका साधन रोल्पा प्रवेश गर्छन् । ती क्षेत्रमा सवारी साधन मार्फत र पैदल आउने व्यक्तिहरूको स्वास्थ्य जाँच बढाउने, कोरोनाबारे जानकारी दिने तथा घर फर्केपछि क्वारेन्टाइनमा बस्ने वातावरण सिर्जना गर्न स्थानीय तहलाई निर्देशन दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

केन्द्रको बैठकले बजार क्षेत्रमा भीडभाड नगर्न, भेला, सम्मेलन तथा कार्यक्रम आयोजना नगर्न सूचना जारी गरेको निमित्त प्रजिअ पौडेलले बताए । उनका अनुसार स्वास्थ्य क्षेत्र, यातायात व्यावसायी, स्थानीय तह तथा सुरक्षाकर्मीसँग समन्वय गरी कोरोना विरुद्धको गतिविधि बढाउन आह्वान गरिएको छ । कोरोना संक्रमण वृद्धि रोक्न सरकारले गरेको निर्णयका आधारमा राजनीतिक दलको अधिवेशन, रोल्पा उद्योग वाणिज्य संघको अधिवेशन, रेडक्रसको अधिवेशन लगायतका भेला स्थगित गरिएको छ ।

जिल्लामा हालसम्म आधा दर्जन कोरोना संक्रमित भेटिएका छन् । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अस्पतालमा आउने क्रम बढेको बताए । अघिल्लो वर्ष करिब ६ हजारमा कोरोना परीक्षण गरिएको थियो । त्यसबेला करिब २ हजार ५ सयमा संक्रमण देखिएको थियो । कोरोनाबाट २१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ १, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?