२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

झारलको मासु बरामद

हुम्ला — नाम्खाको जंगलमा सिकारीले मारेर लुकाएको झारलको मासु बरामद गरिएको छ । प्रहरीले बरामद गरेको मासु डिभिजन वन कार्यालयमा बुझाएको छ । नाम्खा–४ याल्वाङका स्थानीयले भने उक्त झारल प्रहरीले नै चोरी सिकार गरेर मारेको आरोप लगाएका छन् ।

नाम्खा गाउँपालिका क्षेत्रभित्र २० वर्षअघि बौद्ध धर्मगुरु प्रेमारिक्साल लामाले हिंसा नगर्न प्रवचन दिएसँगै नाम्खाका स्थानीयले वन्यजन्तुको सिकार नगर्ने सामूहिक कसम खाएका थिए । चोरी सिकारी गरेर नाम्खा गाउँपालिका–४ स्थित याल्वाङको यांगारगाउँ नजिकै जाइनी राष्ट्रिय वनमा लुकाएको मासु बरामद गरिएको हो ।

प्रदेश सरकारले वन्यजन्तुसम्बन्धी कानुन नबनाएकाले अनुसन्धानमा समस्या भएको निमित्त वन अधिकृत लोकजंग शाहीले बताए । उनका अनुसार अनुसन्धानका लागि सहायक वन अधिकृत प्रतिमा पनेरुको टोली खटाइएको छ । सिकार खेल्न प्रतिबन्धित क्षेत्रमा झारल मारेको बारे अनुसन्धान गर्न प्रहरी टोली पनि खटाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए ।

उनका अनुसार गत मंगलबार नाम्खा गाउपालिका–४ याल्वाङ पारिपट्टिको जंगलमा बन्दुक पड्किएको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । घटनाबारे विस्तृत अध्ययन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?