मोटर बिग्रिएपछि खानेपानी हाहाकार

झन्डै ३ सय परिवार विभिन्न खोला र मुहान चहार्दै पानी ल्याउन बाध्य
विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका–१ स्विकोटकी ४५ वर्षीया कमला बुढा बस्तीदेखि एक घण्टा तलको स्वीकोटखोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी ४० वर्षीया नन्नकली रोकालाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

मोटर बिग्रिएपछि खानेपानी हाहाकार

२०४४ सालमा गाउँमा निर्मित खानेपानी योजना जीर्ण भएपछि २ वर्षअघि लिप्ट खानेपानी योजना निर्माण गरिएको थियो । तर योजनाको योजनाको मोटर बिग्रेपछि कुमाख गाउँपालिका–१ स्थित स्विकोट, मिलनचोक, सादनमुढा र थालामा खानेपानीको चरम अभाव भएको छ । खानेपानी अभाव भएपछि झन्डै ३ सय परिवार विभिन्न खोला र मुहान चाहर्दै पानी ल्याउन बाध्य छन् । ‘सधैं पानीको पिरलो हुन्छ,’ रोकाले भनिन्, ‘महिला र बालबालिकाको साँझ–बिहानको काम नै पानी ओसार्ने हुन थालेको छ ।’

स्थानीय पवित्रा बुढाथोकीले ज्यान जोखिममा राखेर खोला र खोल्साखोल्सी चाहार्नुपर्ने बाध्यता अझै नटरेको बताइन् । ‘कुनैबेला आधा राति उठेर पानी भर्न जानुपर्छ,’ उनले भने, ‘खोलामा पनि पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।’ पानी अभावकै कारण तरकारी फलाउन र वस्तुभाउ पाल्नसमेत मुस्किल भएको उनको गुनासो छ ।

आसपासका गाउँका सबै मुहान सुकेपछि डेढ वर्षयता खानेपानीको हाहाकार भएको स्विकोटकी सुशीला बुढाले बताइन् । नयाँ योजनाको मोटर मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ । ‘लिफ्ट योजना बन्दा ठूलो राहत मिलेको थियो,’ उनले भनिन्, ‘तर योजना बनेको ६ महिनामै मोटर बिग्रिएपछि समस्या जहाँको तही छ । कपडा धुनसमेत खोलै पुग्नुपर्छ ।’

बिहानै घरबाट उठेर पानी लिन जानुपर्दा विभिन्न सास्ती भोग्नुपर्ने बाध्यता भएको स्थानीय सीता रोकाले बताइन् । ‘लामो दूरीबाट गाग्रीमा पानी बोक्नुपर्दा ढाड दुख्ने पुरानो रोग फेरि बल्झिएको छ,’ उनले भनिन्, ‘समयमै घरमा पानी ल्याउन नपाउँदा बालबालिकाको पठनपाठन पनि प्रभावित भएको छ, सरसफाइमा समेत समस्या भइरहेको छ ।’

मोटर मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग गरे पनि बेवास्ता भएको कुमाख गाउँपालिका–१ का वडाध्यक्ष गोपाल बुढाथोकीले बताए ।

उनका अनुसार २०४४ सालमा निर्माण सुरु भइ झण्डै १ करोड रुपैयाँमा निर्माण गरिएको खानेपानी योजना तहसनहस भएको थियो । उक्त योजनाले कुमाख गाउँपालिका–१ र २ मा १५/१६ वर्षसम्म झन्डै ६ सय परिवारमा खानेपानी सुविधा पुगेको थियो ।

२ वर्षअघि दुवै गाउँमा खानेपानी समस्या समाधान गर्न गाउँपालिकाको बजेटबाट ११ लाख रुपैयाँमा लिप्ट खानेपानी योजना सञ्चालन गरिएको उनले जानकारी दिए । ‘तर ६ महिनामै मोटर बिग्रिएपछि खानेपानी समस्या अझै उस्तै छ,’ उनले भने, ‘हामीसँग बजेट छैन, प्रदेश सरकारले बेवास्ता गर्‍यो ।’

प्रकाशित : पुस २९, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?