१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वास्थ्यचौकीमा औषधि अभाव

छपाल लामा

हुम्ला — सर्केगाड गाउँपालिका–४ सायास्थित स्वास्थ्यचौकीमा सिटामोललगायत कुनै पनि औषधी छैन । औषधि सकिएपछि स्वास्थ्यकर्मीहरू स्वास्थ्चौकी खोल्ने र बन्द गर्ने गरेरमात्र दिन बिताउन बाध्य छन् । स्वास्थ्यचौकीमा औषधि नभएपछि बिरामीसमेत त्यहाँ जान छोडेका छन् ।

स्वास्थ्यचौकीमा औषधिको अभाव भएपछि उपचार प्रभावित भएको । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र ज्येष्ठ नागरिक बिरामी परे पनि झण्डै २ महिनादेखि स्वास्थ्यचौकीमा औषधिको अभाव छ । स्वास्थ्यचौकीमा उपचार गर्न जाँदा रित्तोहात फर्कनुपरेपछि जान छोडिएको स्थानीय मंगला विकले बताइन् । ‘त्यहाँ गएर के गर्ने ? ,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले चेकजाँच गर्छन् अनि औषधि किन्न मेडिकलमा पठाउँछन्, त्योभन्दा मेडिकलमै जचाएको बेस ।’ उनले गाउँमा मेडिकल नहुँदा औषधि किन्न गाउँपालिकाको केन्द्र सर्केगाड जानुपर्ने बाध्यता भएको बताइन् ।

यसअघि स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेका थिए । अनमी बिजौरा शाहीले गाउँभरि विभिन्न रोगका बिरामी बढ्दै गए पनि औषधिको अभाव हुँदा उपचार गर्न समस्या भएको बताए । उनले गाउँपालिकाले औषधि खरिदमा कुनै ध्यान नदिएको गुनासो गरिन् । ‘सबैभन्दा बढी बिरामीहरूलाई सिटामोल दिन्थ्यौं,’ उनले भने, ‘अहिले त्यो पनि नभएपछि स्थानीयबासी उपचारबाट वञ्चित छन् ।’ उनका अनुसार गाउँमा टाउको दुख्ने, ज्वरो आउने, शरिर दुख्नेलगायत स्वास्थ्य समस्याका बिरामी घरघरै छन् । उनले हिमपातपछि ज्येष्ठ नागरिकमा दमको समस्या देखिन थालेको बताए ।

स्वास्थ्यचौकीका अहेव धर्मराज शाहीले औषधि अभाव हुँदा बिरामीको गाली खानु परेको सुनाए । ‘औषधि त छैन, तर स्वास्थ्यचौकी खौल्नैपर्‍यो,’ उनले भने, ‘दिनभरि स्वास्थ्यचौकी खोलेर दिन कटाउनुपर्ने बाध्यता छ ।’ उनले औषधि खरिदको व्यवस्था मिलाउन गाउँपालिकालाई पटकपटक आग्रह गरे पनि बेवास्ता भएको गुनासो गरे ।

हुम्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि अभाव देखिएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । हिउँदका ६ महिना हिउँले लिमीको बाटो बन्द हुँदा लिमीमा सधैं औषधिको अभाव हुने उनले गुनासो गरे । ‘कुनैबेला औषधि हुँदैन, कुनैबेला स्वास्थ्यकर्मी,’ उनले भने, ‘अहिले कोही बिरामी परे हेलिकोप्टर चार्टरको विकल्प छैन ।’ उनका अनुसार लिमीबाट नेपालगन्ज र सुर्खेत हेलिकोप्टर चार्टर गरेबापत कम्पनीहरूले झन्डै १० लाख रुपैयाँसम्म लिने गरेका छन् ।

प्रकाशित : पुस २९, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?