१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मन्त्री झाँक्री मीत लगाउन राउटे बस्तीमा

‘अब काठमाडौं जान पाइने भइयो, हाम्रा त मन्त्री मितिनी भइन् जता घुमे पनि भयो’
ज्योति कटुवाल

सुर्खेत — सहरी विकासमन्त्री रामकुमारी झाँक्री राउटेलाई मनाउन राउटे बस्तीमै पुगेकी छिन् । शुक्रबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेकी मन्त्री झाँक्रीले गाजलु र सम्झनासँग मीत लगाएकी छन् ।

मन्त्री झाँक्री मीत लगाउन राउटे बस्तीमा

मन्त्री झाँक्रीले गाजलु र सम्झनासँगै मीत लगाउने भन्दै केही शृंगार र उनीहरूले लगाउने कपडा ल्याइदिएकी थिइन् । मन्त्रीसँग मीत लगाएपछि उनीहरू दंग छन् । ‘अब काठमाडौं जान पाइने भइयो,’ गाजलुले भनिन्, ‘हाम्रा त मन्त्री मितिनी भइन् जता घुमे पनि भयो ।’ उनीहरूले मीत लगाएपछि काठबाट बनेका भाडा दिएका थिए । राउटे समुदायमा मितेरी साइनो धेरै महत्त्व हुन्छ । मन्त्री झाँक्रीले साइनोअनुसारको भूमिका निभाउने बताइन् । त्यस्तै सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले लोकेन्द्र शाहीसँग मीत लगाएका हुन् ।

राउटेलाई परम्परागत काठका घर बनाउन आग्रह गर्दै मन्त्री झाँक्री बस्तीमा पुगेकी हुन् । राउटेहरूले हाँसेरै उनलाई आफूहरू बिस्तारै परिवर्तन हुँदै गएकाले नआत्तिन सुझाव दिए । महामुखिया मैनबहादुर शाहीले बसेको स्थानबाट कहिलेकाहीं हप्ता दिन नबित्दै बस्ती सर्नुपर्ने बाध्यता भएकाले यो घर आवश्यक नरहेको बताए । ‘समुदायका कुनै मानिसहरूको मृत्यु हुनासाथ उक्त स्थान छोड्नुपर्ने भएकाले त्यो घर हामीलाई के काम ?,’ उनले भने, ‘समुदायमा पुरानो परम्परा झट्ट छोड्न मिल्दैन ।’

राउटेहरूको लागि छुट्याएको बजेट अन्तै रकमान्तरण गर्ने प्रवृत्ति रोकिने मन्त्री झाँक्रीले बताइन् । ‘हामीले उनीहरूको बसाइको स्थायित्व खोजेको हैन,’ उनले भनिन्, ‘राउटेको संस्कारमा असर नपर्ने गरी उनीहरूका लागि आवास निर्माण गरिनेछ ।’ राउटेहरूको रोजाइ दैलेख, सुर्खेत र सल्यानका विभिन्न जंगलमा भएकाले ३ वटै जिल्लामा काठबाट भनेका घर बनाइदिने उनको भनाइ छ । ‘राउटेलाई राउटे नै बनाउन मदिराबाट बाहिर निकाल्न आवश्यक छ,’ ‘उनले भनिन्, ‘नयाँ घरसँगै उनीहरूले गरिखाने पेसालाई प्रोत्साहन पनि सरकारले सहयोग गर्नेछ ।’ उनले राउटेहरूलाई आफ्नै पेसामा आत्मनिर्भर बनाउन आवश्यक रहेको औंल्याइन् । उनीहरू खुसी नभएसम्म घर बनाउने प्रक्रिया अघि नबढ्ने उनको भनाइ छ ।

सहरी तथा भवन निर्माण विभागका महानिर्देशक मैनालीले उनीहरूको इच्छाअनुसार उनीहरूले रोजेको जिल्लामा घर बनाइदिने बताए । उनका अनुसार राउटेहरूलाई घाम र पानीबाट जोगाउन यी घर आवश्यक छ । उनीहरूले चाहेको अनुसार बनाउन र भत्काउन मिल्ने नयाँ प्रविधिको घर बनाउन लागिएको उनको भनाइ छ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले मासिक भत्ता बस्तीमै ल्याएर बुझाइदिने भए मात्र मन्त्रीले भनेको मान्ने बताए । उनले भत्ता समयमा नआउने भएकाले जनताहरू भड्किने गरेकाले आफूले मात्र निर्णय लिन नसक्ने बताए । जनताखुसी भए मात्र मन्त्रीले भनेको जस्तो हुने उनको भनाइ छ । राउटे समुदायमा १ सय ४१ घरपरिवार छन् ।

प्रकाशित : पुस २५, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?