हिउँले छोप्यो घाँस

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीमा पहिले परेको हिउँ नबिलाउँदै भारी हिमपात भएपछि करिब १५ सय चौरीसहित पशुचौपाया जोखिममा परेका छन् । लिमीमा यो वर्ष तेस्रोपल्ट भारी वर्षा भएको हो । स्थानीयले घाँस काट्ने तयारी गर्दै गर्दा कात्तिक अन्तिम साता भारी हिमपात भएको थियो ।

त्यतिबेलैको हिउँ नबिलाउँदै लिमीमा कात्तिक दोस्रो साता फेरि हिउँ पर्‍यो । खाद्यान्न उत्पादन न्यून हुने लिमीका बासिन्दाको मुख्य पेशा पशुपालन नै हो । स्थानीयले बर्सेनि हिउँ पर्ने सिजन सुरु हुनुअघि घाँस काटेर भण्डारण गर्थे । ‘तर यो वर्ष छिटो हिउँ पर्‍यो,’ लिमीको हल्जीगाउँका फुन्जोक लामाले भने, ‘घाँस काट्न नपाएपछि भुस खुवाएर एक महिनादेखि चौंरीलाई गोठभित्रै थुनेर राखेका छौं ।’ उनले सबैसँग पर्याप्त भुस नहुँदा चौंरीसहितका पशुचौपाया जोखिममा परेको छ ।

यो वर्ष सुरुमा भएको हिमपातले घाँस काट्न नपाएपछि पशु पाल्न कठिन भएको स्थानीय गिरी तामाङले बताए । उनको गोठमा अहिले ८ वटा चौंरीसहित ३५ पशुबस्तु छन् । ‘अहिले सबै घाँस हिउँले छोपेको छ,’ उनले भने, ‘एक/दुई हप्ताभित्र हिउँ नबिलाएर गोठभित्रै पशुचौपाया मर्ने जोखिम भयो ।’ उनले परिवारका सदस्यका लागि यसअघि नै खाद्यान्न र अन्य सामानको जोहो गरिए पनि पशुहरूका लागि व्यवस्थापन गर्न नसकिएको गुनासो गरे । उनका अनुसार यसअघि घरका छतहरूमा काटेर राखिएको घाँस हिउँद महिनाभरि पुग्ने गरी व्यवस्था गरिन्थ्यो ।

हल्जी गाउँका फुर्वा तामाङले बेमौसमको हिमपातले पशुपालन व्यवसाय ठूलो संकटमा परेको बताए । ‘गोठभित्र बाँधिएका पशुहरू खोलेको भरमा छन्,’ उनले भने, ‘हामी त जसोतसो बाँचौंला, चौंरीहरू कसरी बचाउने ?’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले लिमीका सबै १ सय ४७ घरधुरीको मुख्य पेसा पशुपालन भएको बताए ।

पशुहरूलाई घाँस दिन नपाएपछि किसान चिन्तित बनेको उनको भनाइ छ । उनका अनुसार नाम्खा गाउँपालिकाका अधिकांश बस्तीमा ४ फिटसम्म हिउँ जमेको छ । ‘हिमपातका कारण सदरमुकामबाट जाने सबै बाटो पुरिएपछि अहिले लिमी गाउँ नै सिलबन्दीमा परेको छ,’ उनले भने, ‘लिमी जान हिल्साबाट नाङमा र सदरमुकाम सिमकोटबाट न्यालु लेक पार गर्नुपर्छ ।’

प्रकाशित : पुस १८, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?