१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिसोले कठ्यांग्रिँदै बाढीपीडित

बाढीपीडितका नाममा अहिलेसम्म ३१ करोड रुपैयाँ खर्च
ज्योति कटुवाल

वीरेन्द्रनगर — सुर्खेतमा २०७१ मा आएको बाढीले घरबारविहीन बनेकाहरू वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बसेको मंसिरमा ७ वर्ष पुगेको छ । सुरुमा ओत लाग्न महिला प्रशिक्षण केन्द्र पुगेका बाढीपीडितहरु अहिले पनि त्यही धुजाधुजा भएको त्रिपालमा छन् । सरकारले पुन:स्थापनाका लागि पहल नगर्दा यो वर्ष पनि उनीहरुले त्रिपालमै कठ्यांग्रिएर हिउँद बिताउनुपर्ने बाध्यता छ ।

चिसोले कठ्यांग्रिँदै बाढीपीडित

एक महिनाअघि त्रिपालमै ६० वर्षीया मैसरा गुरुङले ज्यान गुमाइन् । मैसराजस्तै उपचार नपाएर ८ जनाको त्रिपालभित्रै ज्यान गइसकेको छ । जाडो अत्यधिक बढेपछि ५६ वर्षीय लक्ष्मी योगी र उनका पति वीरबहादुर एक सातादेखि बिरामी परेका छन् । रेखदेख गर्ने मानिस नहुँदा उनीहरुको घरभित्रै च्याउ उम्रेको छ । लक्ष्मीका श्रीमान् दमका दीर्घरोगीसमेत हुन् । सरकारले उनीहरुलाई घर बनाउन ५० हजार रुपैयाँ दिएको छ । ‘अब यो पैसाले घर बनाऊँ कि श्रीमान्को उपचार गरूँ ?’ उनले भनिन्, ‘हाम्रो प्राण त त्रिपालभित्रै जाने भयो ।’

बाढीमा दुवै खुट्टा गुमाएका नरबहादुर रोकायले पनि चिसो बेसरी बढ्दा खप्न मुस्किल भएको बताए । उनका अनुसार चिसोका कारण बालबालिकादेखि वृद्धवृद्धा र सुत्केरी महिला बिरामले थलिएका छन् । ‘सबैको ज्यान जोखिममा छ, सरकारले गाँस, बासको व्यवस्था त गरेन गरेन,’ उनले भने, ‘कम्तीमा सिटामोल दिए पनि जाडो कटाउन सकिन्थ्यो ।’ उनले आफूहरु बसेको ठाउँबाट कति बेला उठीबास हुने हो भन्ने चिन्ता सधैं हुने बताए । ‘यही ठाउँ छोडे कहाँ जाने ?,’ उनले भने, ‘त्रिपालभित्र बसेर कहिलेसम्म ज्यान जोगाउने ?’

सरकारी कर्मचारीले बेलाबेलामा आएर जमिन छोड्नुपर्छ भन्दै धम्की दिने गरेको उनले गुनासो गरे । २०७१ साउन अन्तिम साताको बाढीले घरबारविहीन भएका उनीहरुलाई अहिले सामान्य ओत लाग्न पनि मुस्किल हुन थालेको छ । उक्त बाढीमा परी २४ जनाको मृत्यु भएको थियो । ९१ जना बेपत्ता भएका थिए ।

कर्णाली प्रदेश सरकारले पुन:स्थापनका लागि गठन गरेको उच्चस्तरीय समितिले जिल्लाभरि १ हजार ४५ जना बाढीपीडितहरु रहेको प्रतिवेदन तयार गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बाढीपीडितका नाममा अहिलेसम्म ३१ करोड रुपैयाँ खर्च भइसकेको छ । मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले बाढीपीडितलाई पुन:स्थापनाका लागि पहिलो किस्ताबापत १ लाख ५० हजार, दोस्रो किस्ताबापत १ लाख र तेस्रो किस्तामा ५० हजार रुपैयाँका दरले रकम दिइरहेको बताए । उनका अनुसार उनीहरुलाई प्राविधिक रिपोर्टका आधारमा बाढीपीडितले घर बनाउने खर्च पाइरहेका हुन् । अझै घरजग्गा नभएका ४ सय परिवारले विस्थापित जीवन बिताइरहेको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयले यो वर्ष ५४ घरपरिवारलाई पहिलो किस्ताबापत ८१ लाख रुपैयाँ दिइएको जनाएको छ । वीरेन्द्रनगरसहित रानीघाट, थापाडेरा, सेस्नेरी र डोक्कामा बाढीबाट विस्थापित परिवार बस्दै आएका छन् । ‘यो हिउँद कटाउनै समस्या भयो,’ गिरीघाटस्थित सडकको छेउमा पाल टाँगेर बस्दै आएका टोपेन्द्र विकले भने, ‘बेलाबेलामा चारो हालेको जस्तो गरेर पैसा दिँदा न घर बने न जग्गा नै जोडियो ।’ सरकारले दिएको पैसाले त्रिपालभित्र उब्जिएका रोग निको पार्न ठिक्क भएको उनको भनाइ छ ।

प्रकाशित : पुस १५, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?