३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बादी बालबालिका पढाइबाट वञ्चित

ज्योति कटुवाल

सुर्खेत — दैलेख, कालिकोट, रुक्मुपश्चिमलगायतका झन्डै १ सय २० बालबालिकालाई बादी सरोकार मञ्चले होस्टल स्थापना गरी सुर्खेतको वीरेन्द्रनगरमा पालनपोषण गरिरहेको छ । त्यसमध्यका ४४ जनाले नियमित विद्यालय जान पाएका छन् । अन्य ७६ जना ५ महिनादेखि पठनपाठनबाट वञ्चित छन् ।

बादी बालबालिका पढाइबाट वञ्चित

दैलेखको दुल्लु नगरपालिकाका १४ वर्षी सुनील बादी पनि त्यही होस्टलमा बस्दै आएका छन् । तर गाउँको सामुदायिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले सुर्खेत आएयता विद्यालय जान पाएका छैनन् । ‘पढ्ने ठूलो रहर बोकेर सुर्खेत झरेको हुँ,’ उनले भने, ‘तर यहाँ आएदेखि विद्यालय जान पाएको छैन ।’ होस्टलमा बस्दा खान लगाउनको दुःख नभए पनि विद्यालय जान नपाएको उनको गुनासो छ ।

कालीकोटकी १३ वर्षीया करिश्मा बादी पनि उक्त होस्टलमा बस्दै आएकी छिन् । ‘मलाइ पनि पढ्ने मन छ,’ उनले भनिन् । उक्त होस्टलमा ५ वर्षदेखि २० वर्ष उमेर समूहका बालबालिका छन् ।

बादी बालबालिकाहरू बालविवाह, बहुविवाह र कुलतमा फसेकाले त्यसबाट बचाउन उनीहरूलाई सुर्खेत ल्याएको बादी समुदायका अगुवा हिक्मत बादीले बताए । ‘बाबुआमालाई छोराछोरीको पढाइ र भविष्यको कुनै चिन्ता छैन,’ उनले भने, ‘अनि कसरी बादीहरू परिवर्तन हुन्छन् ?’ उनले बादी बालबालिकालाई खानपिनको व्यवस्था गरी विद्यालय पठाउन होस्टल सञ्चालन गरिएको बताए । सहयोग गर्ने निकाय नहुँदा उनीहरूले पढ्न नपाएको उनको गुनासो छ । उनका अनुसार ४१ छात्रा र ३५ छात्र गरी ७६ बादी बालबालिका लामो समयदेखि वञ्चित भएका हुन् ।

होस्टलकै अन्य ३८ जनालाई ‘लभ एन्ड होप नेपाल’ले पढाइदिएको छ । त्यस्तै, प्रदेश अस्पतालका डा. नवराज केसीले ६ जनाको पढाइ खर्चको जिम्मा लिएका छन् । अन्य ७६ जनालाई कुनै निकायबाट सहयोग नभएको बादीले बताए । ‘पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० जिल्लाका बादी समुदायका बालबालिकालाई होस्टल बनाएर राख्ने आवश्वासन दिएकाले पढ्न इच्छुक बालिबालिका ल्याइयो,’ उनले भने, ‘तर मुख्यमन्त्री नै परिवर्तन भएपछि बालबालिका फेरि सडकमा भौंतारिने र कुलतमा फस्ने जोखिम बढेको छ ।’

प्रकाशित : पुस १५, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?