विद्यार्थीमार्फत खोप सचेतना

कोरोनाविरूद्धको खोप लगाउनेको संख्या कम भएपछि स्वास्थ्यकर्मीमार्फत विद्यालयमा सचेतना अभियान सञ्चालन गरिने
तुलाराम पाण्डे

कालीकोट — कोरोनाविरुद्धको खोपको गति बढाउन कालीकोटमा विद्यार्थीलाई सचेतना कक्षा दिइने भएको छ । कोरोनाविरुद्धको खोप लगाउनेको संख्या न्यून भएको र पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउनेको संख्या न्यून भएपछि विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना अभियान सञ्चालन गर्न लागिएको हो ।

विद्यार्थीमार्फत खोप सचेतना

जिल्ला कोभिड खोप समन्वय समितिको सोमबारको बैठकले विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकामार्फत अभिभावकसम्म सूचना पुर्‍याउने, सबै स्थानीयको पहुँचमा खोप पुगोस् भनेर सम्बन्धित सबै सरोकारवाला व्यक्ति र पक्षलाई समेत परिचालन गर्ने निर्णय गरेको हो । जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ३४ हजार छ भने दोस्रो मात्रा लगाउनेको संख्या २३ हजार मात्र छ । दुवै मात्रा लगाएर अनलाइनमा नाम दर्ता भएकाको संख्या त नगण्य रहेको स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए । ‘दुवै मात्रा खोप लगाएर अनलाइन सिस्टममा दर्ता भएका ६० जना पनि छैनन्,’ उनले भने ।

सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिए पनि खोप लगाए ज्वरो आउने, रिंगटा लाग्ने, शारीरिक रूपमा कमजोर हुने भ्रम रहेकाले खोप लगाउन नआएको ठहर गर्दै बैठकले महिला स्वास्थ्य स्वयंसेविकालाई समेत घरदैलो गर्न परिचालन गर्ने निर्णय भएको जिल्ला कोभिड खोप समन्वय समितिका अध्यक्षसमेत रहेका प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

‘स्थानीय तहका स्वास्थ्य शाखाको अगुवाइमा मावि तहका सबै विद्यालयमा स्वास्थ्यकर्मी खटाएर कोरोनाविरुद्धको खोपबारे विद्यार्थीलाई जानकारी दिएर उनीहरूका अभिभावकसम्म खबर पुर्‍याउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो,’ उनले भने । कोरोनाविरुद्धको खोपबारे समुदायमा भ्रम रहेकाले त्यसलाई चिर्न स्वास्थ्यकर्मी विद्यालयमा खटाएर सबै अभिभावकलाई खोप अभियानमा समेट्न यहाँका रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाले अभ्यास गरेकाले यो विधि अपनाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको उनले सुनाए । ‘सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, मास्कको अनिवार्य प्रयोग गर्नेजस्ता सुरक्षाका विधि अपनाउँदै खोप अभियानलाई पनि प्रभावकारी बनाउनुपर्छ,’ उनले भने ।

कालीकोटमा कोरोनाविरुद्धको खोपसम्बन्धी सचेतना जगाउन र अनलाइनमा रजिस्टर गर्न प्लान नेपालको सहयोगमा सहजीकरण भइरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी गौराकुमारी घर्तीले बताइन् । ‘एक त खोप लगाउन पनि धेरै आउँदैनन्,’ उनले भनिन्, ‘खोप लगाइसकेकाले पनि अनलाइनमा दर्ता गराउन चासो दिँदैनन् ।’ अनलाइन दर्ता गरेपछि कतिले खोप लगाए भनेर अनलाइनबाटै थाहा पाउन सकिने र विदेश जाँदा पनि खोप लगाएको सुनिश्चित गर्न सहज हुने भएकाले दुःख नपाइने उनको भनाइ छ । अनलाइनमा दर्ता गर्न खोप लगाएका व्यक्तिको फोटो, खोप कार्ड र नागरिकताको सक्कल प्रति आवश्यक पर्छ ।

कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन रास्कोट नगरपालिका, नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरेर उनीहरूमार्फत घरदैलो गर्न लगाउने, मावि तहका विद्यालयमा प्रार्थनासभामा स्वास्थ्यकर्मीबाट कोरोनाविरुद्ध सचेतना र खोपबारे विद्यार्थीमार्फत अभिभावकलाई जानकारी दिने कार्ययोजना निर्माण गरेका छन् ।

‘सबै नागरिकले खोप लगाउन पाऊन् भनेर स्वास्थ्यकर्मी र शैक्षिक अभियन्ता परिचालन गर्ने निर्णय गरेका छौं,’ आइतबार पालिकाको केन्द्र कुमाल गाउँमा आयोजित समन्वय बैठकका निर्णय सुनाउँदै नरहरिनाथ अध्यक्ष धीरबहादुर विष्टले भने, ‘अरू काम गर्दै गरौंला, कोरोनाविरुद्ध सबै लाग्नुपर्ने देखियो ।’

कोरोना महामारीले सबै वर्ग, क्षेत्र, लिंग, जातजाति र उमेर समूहलाई सताएकाले यसविरुद्ध स्थानीय रूपमै रणनीति बनाएर सक्रिय हुनुपर्ने रास्कोट नगर प्रमुख काशीचन्द्र बराल बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?