कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुलबुले ताल स्तरोन्नतिमा ढिलाइ

२२ वटा योजनामध्ये अधिकांश अधुरै
कम बजेट आउँदा एकैपटक धेरै काम गर्न सकस
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत उपत्यका नगर विकास समितिले आर्थिक वर्ष २०७४/७५ मा २० वर्षे बुलबुले उद्यान गुरुयोजना तयार पार्‍यो । बुलबुलेमा पूर्वाधार निर्माणलाई समेटेर विभिन्न २२ वटा योजना समेटिएको गुरुयोजना बने पनि अझै अधिकांश योजना अधुरै छन् ।

बुलबुले ताल स्तरोन्नतिमा ढिलाइ

गुरुयोजना बनाएको ४ वर्षसम्म तालभित्र माटो नखसोस् भनेर करिब ५५ लाख रुपैयाँमा रिटेनिङ पर्खाल लगाउने काम भएको छ । तर उक्त पर्खालमा रेलिङ लगाउने काम अझै बाँकी छ । तालको वरिपरि २० वटा सोलार बत्ती जडान गरिएको छ । जसले गर्दा रात्रिकालीन समयमा पनि तालको अवलोकन गर्न सकिन्छ । तालको पश्चिमतर्फ इत्राम खोलाको दुवैतर्फ गत आर्थिक वर्षमा ७६ लाख रुपैयाँको बजेटमा ग्याभिङको काम पनि गरिएको वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

उद्यानभित्र ११ हजार वर्गमिटर फराकिलो बुलबुले ताललाई विस्तार गरी २८ हजार वर्गमिटर फराकिलो बनाइएको प्रदेश वन निर्देशक शिवराम अधिकारीले बताए । उनका अनुसार बुलबुले उद्यान ३० बिगाह १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । उद्यानको स्तरोन्नति गर्न ३१ करोड ६३ लाख रूपैयाँ लागत लाग्ने अनुमानसहित गुरुयोजना बनाइएको उनले जानकारी दिए ।

बुलबुले ताल विस्तारको लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव ०७५/७६ मा ५ करोड रूपैयाँ बजेट विनियोजन गरे पनि काम नभपछि उक्त बजेटमा १ करोड ९६ लाख रुपैयाँ मात्रै खर्च भइ बाँकी बजेट फ्रिज भयो । मन्त्रालयले ०७६/७७ मा पनि पुनः ताल विस्तारको लागि ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ६० लाख विनियोजन भएकोमा १ करोड १३ लाख खर्च भएको निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले बुलबुलेमा भौतिक संरचना निर्माणका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको छ । ‘नगर विकास समितिले बनाएको गुरुयोजना कार्यान्वयनअन्तर्गत अहिले यो काम भइरहेको हो,’ प्रदेश वन निर्देशक अधिकारीले भने, ‘हरेक वर्ष बजेट छुट्टिँदै काम हुँदै गर्छ ।’ उनले बुलबुलेको स्तरोन्नतिका लागि संघीय आयोजना कार्यान्वयन इकाईले र नगर विकास समितिले पनि काम गरिरहेको जानकारी दिए । बजेट टुक्रा–टुक्रा भएर आउने भएकाले एकैपटक धेरै काम गर्न नसकिएको उनले गुनासो गरे । उनले अबको एक महिनाभित्र बाँकी कामका लागि टेन्डर आह्वान गर्ने निर्देशनालयको तयारी छ ।

यो वर्षको बजेटले तालमा माछा मार्न फिसिङ डाइक र डुंगा चलाउन बोटिङ डाइक, इत्राम खोलामा तटबन्ध, पैदलमार्ग, ताल संरक्षणका लागी घेरबार, रेलिङलगायत काम हुनेछन् । पहिले बनाएको पर्खालबाट पानी चुहिन थालेपछि पुरानो भत्काएर नयाँ पर्खाल बनाउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले बुलबुलेको स्तरोन्नतिका लागि संघ, प्रदेश र स्थानीय तहको समेत साझेदारीमा काम भइरहेको छ ।

गुरुयोजनामा तालको माथिल्लो एक छेउमा कमलको फूलहरू फुलाइने उल्लेख छ । ताल विस्तारसँगै उद्यानभित्र टिकट घर, स्विमिङ पुल, पिकनिक क्षेत्र, रिङरोड, डुंगा सवारी, रंगीन बगैंचा, बाल उद्यान, धार्मिक मानिसका लागि भौतिक संरचना, विश्राम कक्षलगायतका सुविधा उपलब्ध हुनेछन् । गुरुयोजनाअनुसार अहिले नुहाउन प्रयोग गरिएका उद्यानभित्रका धाराहरू अब प्लाजाका रूपमा स्थापना हुनेछन् । नुहाउन छुट्टै धारा निर्माण गरिने छ ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?