२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

द्वन्द्वपीडितकापीडा उस्तै

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–२ गुराँसेका ५६ वर्षीय पूर्णबहादुर ओली तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सुरुवातीमै पार्टीमा लागे । सेनाले २०५९ मा गुराँसेमा गरेको आक्रमणमा उनको घर ध्वस्त भएको थियो । ‘तर अहिलेसम्म कतैबाट राहत पाइएन,’ उनले गुनासो गरे, ‘पार्टी पटक–पटक सरकारमा गए पनि हामीलाई कहिल्यै हेरेन ।’ ओली २०५५ मा पार्टीको गाविस इन्चार्ज तोकिएका थिए भने पछि जिल्ला सदस्यसम्म बने । शान्ति प्रक्रिया सुरु भएसँगै जीविकोपार्जनमा समस्या भएपछि उनी मजदुरीका लागि मलेसिया गएर फर्किएका हुन् ।

द्वन्द्वपीडितकापीडा उस्तै

उनका छिमेकी दलबहादुर विकलाई २०५९ भदौ २९ गते सेनाको टोलीले गिरफ्तार गरी बेपत्ता बनायो । पछि सरकारले मृत घोषणा गर्दै उनका परिवारलाई किस्तामा १० लाख रुपैयाँ राहत दियो । ‘थोरै थोरै गर्दै राहत दिएकाले त्यो कामै लागेन,’ बेपत्ताका बाबु ६५ वर्षीय दले विकको भने, ‘मरेको भए पनि सरकारले अन्त्येष्टि गर्न लास दिनुपर्थ्यो, हामीले मरेको भनेर कसरी विश्वास गर्ने ?’ उनले छोरा नहुँदा १० जनाको परिवार पाल्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

सशस्त्र द्वन्द्वको समयमा छत्रेश्वरी गाउँपालिका–२ गुराँसेमा नेपाली सेना र तत्कालीन माओवादीबीच ३ पटक भिडन्त भयो । जसमा गुराँसेका ११ सहित आसपासका गाउँका १९ जनाले ज्यान गुमाए । झन्डै ८० जना घाइते भएको र करिब ६० परिवार विस्थापित भएको गाउँपालिकाको तथ्यांक छ । माओवादी नेतृत्वको पहिलो सरकारले गुराँसेलाई नमुना गाउँ घोषणा गरी पुनर्निर्माणका काम थाले पनि अपुरो हुँदा स्थानीयले अझै राहतको अनुभूति गरेका छैनन् ।

सरकारले गुराँसेलाई नमुना बनाउन सडक, बिजुली, खानेपानीलगायतका विकास पूर्वाधारको काम सुरु गर्‍यो । तर अधिकांश योजना अधुरै बनेको स्थानीय पूर्णबहादुर ओलीले बताए । ‘न गाउँमा विकास भयो, न हामीले न्याय र राहत पायौं,’ उनले भने, ‘अपांगहरूले उपचार पाएनन्, हामीलाई जीविकोपार्जनमा पनि सहयोग भएन ।’ उनले रोजगारी नहुँदा ३ छोराछोरीलाई राम्रो शिक्षा दिन समस्या भएको गुनासो गरे ।

सहिद परिवारको पीडामा सरकारले बेवास्ता गर्दा द्वन्द्वपीडितहरूको अवस्था झन् दयनीय भएको सहिद परिवारका सदस्य चूडामणि बस्नेतले बताए । ‘बेरोजगारीको पीडाले लामो समयदेखि पिल्सिएका छौं,’ उनले भने, ‘हामीलाई गुजारा चलाउनै समस्या भयो ।’ नेताहरूले पटक–पटक गाउँमा आएर गरेको प्रतिवद्धता भाषणमा सीमित भएको उनको गुनासो छ ।

छत्रेश्वरी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खड्काले शान्ति स्थापना भएको १५ वर्ष बिते पनि द्वन्द्वपीडितले अझै राहतको अनुभूति गर्न नसकेको बताए । उनका अनुसार गुराँसेलाई युद्ध पर्यटनका लागि नमुना बस्ती बनाउन सरकारले झन्डै ३ करोड रुपैयाँ खर्च गरेको छ । ‘सुरुका २/३ वर्ष पूर्वाधार विकासका विभिन्न कामहरू भए पनि त्यसपछि बजेट आउन छोड्यो,’ उनले भने, ‘स्थानीयलाई आत्मनिर्भर बनाउन वडा कार्यालयका तर्फबाट सीपमूलक तालिम दिने, कृषि व्यवसायमा सहयोग गर्ने, घाइतेलाई उपचार खर्च दिनेलगायत कामहरू भइरहेका छन् । उनले गुराँसेमा २०५५ मंसिर १३ , २०५९ जेठ २९ र २०५९ भदौ २४ गते ३ पल्ट ठूला भिडन्त भएका थिए । द्वन्द्वको समयमा सेनाले गाउँमा आगलागी गर्दा करिब ३ करोड रुपैयाँको क्षति भएको साविक स्थानीय शान्ति समितिको तथ्यांक छ ।

प्रकाशित : मंसिर १९, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?