कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलालु पुल सञ्चालन

तुलाराम पाण्डे

कालीकोट — कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएको छ । कर्णाली करिडोर सुरु हुने कालीकोटको खुलालुमा कर्णाली नदीमाथि पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । 

खुलालु पुल सञ्चालन

१२ वर्षअघि उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास दुईपल्ट गरेका थिए । पटकपटक निर्माणको लागि ठेक्का हुँदै अलपत्र पर्दै आएको पुल गत असोजमा ढलान भएपछि कात्तिक अन्तिम सातादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि सुर्खेतबाट कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आउन सकिने भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

कर्णाली नदीमा पक्की पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘पुल नहुँदा निकै सास्ती थियो,’ उनले भने, ‘अब निर्माण सामग्री र दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र यात्रुलाई आवागमन गर्न निकै सहज भयो ।’

ठेकेदारको लापरवाहीले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको थियो । खुलालुस्थित कर्णाली नदीमा पक्की निर्माणको ठेक्का ०६९ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी कन्काइ जेभीले लिए पनि काम हुन सकेन । काम नभएपछि सडक डिभिजन कार्यालयले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुमा १३ करोड लागत रहेको पुल अहिले बढेर भ्याटसहित १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । अहिले स्टिल ट्रससहितको ७५ मिटर लम्बाइ र ९ मिटर चौडाइको पक्की पुल बनेको हो ।

भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माण गरी गत असारमा सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । तर पुल नबन्दा यात्रुहरू बीचमै झरेर फेरि अर्को गाडी चढ्न बाध्य थिए । नदीमा पुल बनेपछि ढुवानी भाडा पनि घट्ने कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनका अनुसार जितेबाट भरियालाई सामान बोकाएर लैजानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?