१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

शिक्षण छाडेर मूर्ति व्यवसाय

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका ३३ वर्षीय टोपेन्द्र डिसीले शिक्षण पेशा छोडेर शालिक र मूर्ति बनाउने व्यवसाय गरिरहेका छन् । उनले बाग्चौर बजारमा ७ वर्षदेखि मूर्ति बनाउन थालेका हुन् । स्नातकोत्तर तह उतीर्ण डिसीले झण्डै ३ वर्ष सूर्यप्रकाश आधारभूत विद्यालयमा शिक्षण गरे ।

शिक्षण छाडेर मूर्ति व्यवसाय

तर निजी स्रोतबाट भर्ना गरिएका उनले तलब पाउन मुस्किल भएपछि पेशा परिवर्ततन गरेका हुन् । ‘पढेर सरकारी नोकरी गर्नैपर्छ भन्ने केही छैन,’ उनले भने, ‘बचपनदेखिको रुचीलाई व्यवसायमा परिवर्तन गरेको हुँ ।’ उनले मानव शालिक र मूर्ति बनाइ बिक्री गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । उनको कमाइबाट ६ जनाको परिवारको खर्च सजिलै टर्दै गएको छ ।

सात वर्षदेखि सुरु गरेको व्यवसाय फस्टाउँदै गएपछि उनले बाग्चौरमा एउटा पक्की घर र झन्डै ५ रोपनी जग्गासमेत जोडेका छन् । पहिले माटोका सालिक तथा मूर्ति बनाइ बिक्री गर्ने उनले २ वर्षयता सिमेन्टको मूर्ति बनाई बिक्री गर्न थालेका छन् । एउटा सालिक र मूर्तिलाई १० हजारदेखि १ लाखसम्ममा बिक्री गर्ने गरेको उनले बताए । उनले सञ्चालन गरेको टोपेन्द्र कला केन्द्रका मूर्ति र सालिकहरू किन्न खरिदकर्ताहरू गाउँमै पुग्छन् ।

‘मलाई सानैदेखि चित्रकलाको रुचि थियो, विद्यालयमा गएको समयमा पनि शिक्षकले पढाउँदै गर्दा पछाडि बसेर चित्र कोर्ने गर्थे,’ उनले भने, ‘सुरुमा पेन्टिङ सिकेर यो व्यवसायमा हात हालेको हुँ ।’ ३ वर्षअघि स्थानीय जनप्रतिनिधिहरूका चित्र बनाएर प्रदर्शन गरेका उनले सबैको प्रशंसा पाएका थिए ।

जस्तोसुकै मूर्ति र सालिक बनाउन सक्ने उनले कतैबाट तालिम लिएका होइनन् । ‘विभिन्न चाडपर्वमा देवीदेवता मूर्ति बनाउन माग आउने गरेको छ,’ उनले भने, ‘दसैं–तिहारमा त बजारको माग धान्नै गाह्रो हुन्छ ।’ उनी सालिक र मूर्ति बनाउन बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर खट्छन् । उनले अर्धकदको मानव सालिक ३ दिनभित्रै तयार हुने बताए । उनका अनुसार पूरै शरीरको सालिक बनाउन भने १० देखि १५ दिन लाग्ने गरेको छ । ७ वर्षको अवधिमा झन्डै ३ सय सालिका तथा मूर्ति बनाएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?