तंग्रिँदै कर्णालीको पर्यटन- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तंग्रिँदै कर्णालीको पर्यटन

ज्योति कटुवाल

सुर्खेत — कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसान बनेका कर्णालीका पर्यटकीय स्थलमा चहलपहल सुरु भएको छ । पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्यसमेत पर्यटक आउन थालेपछि होटल व्यवसायीहरूसमेत उत्साही बन्दै गएका छन् । मुगुको रारा कर्णालीकै मुख्य पर्यटकीय गन्तव्य हो ।

कोरोनाको प्रभाव कम भएपछि स्वेदशी मात्रै होइन, विदेशी उच्च ओहोदाका व्यक्तिहरू पनि पर्यटकका रूपमा रारा पुग्न थालेका छन् । मंसिर सुरुवातमै अमेरिकी राजदूत रेन्डी बेरी, अस्टेलियन राजदूत फिलिसिटी भोल्कलगायतले रारा भ्रमण गरे । कोरोनापछि रारामा विदेशीको पहिलो भ्रमण भएको मुगुका स्थानीय बताउँछन् । मुगुका स्थानीय प्रकाश शाहीले अहिले दैनिक १५ देखि २० वटा गाडीमा रारा घुम्न आउने गरेको बताए । काठमाडौंबाट सिधै सुर्खेत भएर कर्णालीका जिल्लामा हवाई यातायात नभएकाले नेपालगन्ज हुँदै हवाईमार्गबाट त्यहाँ पुगेका राजदूतहरू तीन मुगुमै बास बसे ।

राराबाहेकका कर्णालीका पर्यटकीय स्थलहरूमा पर्यटक आवागमन बढ्दै गएको छ । डोल्पाको शे–फोक्सेन्डो तालमा उत्तिकै पर्यटकहरू पुग्ने गरेका छन् । हेलिकोप्टर रिजर्भ गरेर पयटकहरू दैनिक पुग्ने गरेको पाइएको छ । हुम्लाको लिमी क्षेत्र, जुम्लाको सिञ्जा, दैलेखको पञ्चदेवल, गढी, पञ्चकोसी, दुल्लुलगायत पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप दैनिक बढेको छ ।

प्रदेश राजधानी सुर्खेतका मुख्य पर्यटकीय स्थलहरू काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै, सल्यानको कुपिन्डे ताल पनि पर्यटकको रोजाइमा परेको पर्ने गर्छन् । पर्यटकहरूको आवागमनले पर्यटकीय क्षेत्र, आसपास र उक्त खण्डका होटल व्यवसायहरूको चहलपहल बढिरहेको छ । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले कोरोनाले शिथिल पारेको पर्यटन क्षेत्र र होटल व्यवसायहरू तंग्रिँदै गएको बताए ।

मंसिर पहिलो साता अध्यक्ष शाहीसहित एनआएनका पूर्वअध्यक्ष जीवा लामिछाने र उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष चन्द्र ढकाल पनि रारामा कुन क्षेत्रमा लगानी गर्दा उपयुक्त हुन्छ भन्दै सम्भाव्यता अध्यनन गरेर फर्किएका छन् । ‘केही वर्षपहिले ४ बिघा जमिन लिइसकेको थिएँ,’ अध्यक्ष शाहीले भने, ‘पर्यटकीय स्तरको होटल छिटै सञ्चालन हुन्छ ।’ ढकाल र लामिछानेले भने रारामै पर्यटन, जलस्रोत र उद्योगलगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंका व्यवसायीको साझेदारीमा यहाँका व्यवसायीले रारामा विभिन्न उद्योगहरू सञ्चालन गर्ने भएका छन् । सुर्खेतका ठूला होटलहरूमा पनि चहलपहल बढेको छ । शुभ, सिद्धार्थ, भ्याली भ्यु, नमस्ते नेपाल, डि नमस्ते सुर्खेतका ठूला होटलमा मानिन्छन् । नमस्ते नेपालका सञ्चालक निरन्जन केसीले कोरोनाको प्रभाव कम भएलगत्तै पर्यटकहरूको आगमनले होटलमा चहलपहल बढ्दै गएको बताए । असोज र कात्तिकमा मात्र त्रिवेणी एड्भेन्चर प्रालीले हेली र प्लेनबाट रारामा ८० पर्यटकलाई भित्र्याएको थियो । उसले स्कार्पियो र अन्य साना गाडीमा झन्डै १ सय ५० जनालाई रारामा पुर्‍याएको थियो । उक्त प्रालिका प्रमुख मनराज सिंखडाले पर्यटकलाई समयमा हेलिकोप्टर, जहाज र स्रोतसाधन उपलब्ध गराउन नसकेको बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

सेतीले बस्ती उजाड

पीडित परिवारलाई राहतभन्दा पुनर्बासको खाँचो
तृप्ति शाही

ढुंगाड, बैतडी — असोज ३१ देखि लगातार ४ दिन परेको बेमौसमी वर्षाले सेती नदीको बाढी बस्तीमा पसेर सिगास गाउँपालिका—५ को ढुंगाड बस्तीलाई उजाड बनाइदिएको छ । बस्तीको छेउमा कलकलाउँदै बग्ने सेती नदीले ढुंगाड सुन्दर देखिन्थ्यो । तर अहिले त्यही नदीले बस्तीलाई कटान गरेर कुरूप बनाएको छ । स्थानीयका घरवरिपरि बालुवा नै बालुवा छ । केही घरहरू भत्किने अवस्थामा छन् । उर्वर उत्पादन हुने त्यहाँका खेतमा पनि बालुवा भरिएको छ ।

सेती नदीको बाढी पसेर उजाड बनाएको गाउँमा अब बस्न नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ । आफूहरूलाई गाउँबाट अन्त बासस्थानका लागि सरकारले पहल गर्नुपर्ने स्थानीय टेकबहादुर चन्दले बताए । ‘हामीलाई तटबन्ध पनि चाहिएको छैन । तार जाली पनि अब त अति भयो,’ उनले भने, ‘बस्न सकिने अवस्था नै छैन । अन्त सारी दिनुपर्‍यो ।’

पटक–पटक नदी गाउँमा पसेर जीउधन नै असुरक्षित हुँदा पनि स्थानी बासिन्दाको समस्या बुझिदिने कोही नभएको यहाँका बासिन्दाको गुनासो छ । ‘अब पुनर्बासको विकल्प छैन,’ चन्दले भने, ‘सामान्य नदी किनारमा बनाएकाको तटबन्धले बस्ती जोगिन्छ भन्ने भ्रमले गर्दा आज हाम्रो बस्ती नै नदीले बगाउँदै छ ।’

स्थानीयहरूका अनुसार २०२७, २०५७ र २०६५ सालमा पनि नदीले बस्ती कटान गरी अहिले अझै क्षति पुगाएको स्थानीय बताउँछन् । आफूहरूलाई राहतभन्दा पुनर्बासको आवश्यकता रहेको उनले बताए । सबैको एउटै बोली बस्ती सानुपर्ने रहेको उनले सुनाए । बेमौसमी वर्षाले बस्तीमा सेती नदी पस्दा आफूहरू एक दिन र एक रात नदीको बीचमै थुनिएको भदै अर्का स्थानीय कर्णबहादुर चन्दले अब यहाँ बस्नै सकिने अवस्था नरहेको बताए । उनले नदीले गाउँमा बाटो बनाइसकेकोले अब फेरि वर्षा हुनासाथ आफूहरूको बिचल्ली हुने दुखेसो पोखे ।

बस्ती र खेतबारीमा सेती पसेर ठूलो क्षति भएकोले अब सरकारले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग स्थानीय देव नागरीको थियो । पानी पर्नासाथ उठीबास हुने भएकोले बेलैमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । खेतबारी बगेका र भएकाहरूमा सिँचाइ कुलोहरू भत्काएर बनाउन नसकिने उनले बताए । आकाशमा बादल लाग्नासाथ घर छोडेर माथि डाँडामा उक्लनुपर्ने बाध्यता स्थानीयको रहेको उनले सुनाए ।

पानी पर्ना साथ सेती नदीको बाढी बस्तीका खेतमा पस्ने गरेको गजेन्द्र धामीले बताए । खेतबारी बगरमा परिणत भएको उनले बताए । के खाने र कहाँ बस्ने चिन्ता रहेको उनले सुनाए । सानोतिनो बाँधले सेतीलाई रोक्न नसकिने भएकोले बस्ती सार्नु राम्रो हुने उनको भनाइ थियो । केही समयका लागि आफूहरूलाई खानाका लागि राहतको आवश्यकता नभए पनि ३/४ महिनापछि भोकमरी हुने संकेत उनले गरे ।

हालै ढुंगाड क्षेत्रको अवलोकनमा पुगेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आफूले सम्बन्धित निकायसंँग ढुंगाडवासीको मागलाई पुगाउने विश्वास दिलाए । देशका प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूको ढुंगाड भ्रमण भइसकेको अवस्थामा आफूले सक्दो पहल गर्ने उनले बताए । उनले स्थानीयले राखेको बस्ती स्थानान्तरणको मागबारे पनि पहल गर्ने बताए । तत्काल भएका समस्याहरूको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । बेमौसमी वर्षाले जिल्लाको क्षतिको विवरण संकलन भइसकेकोले आवश्यकताअनुसारको पहल र सहयोग गर्ने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×