सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द हुने- कर्णाली - कान्तिपुर समाचार

सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द हुने

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ ।


कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको बताइन् । हाल ३ मिटर मात्रै सडक चौडा रहेको उक्त भिरमा १५ मिटर उचाइको भीर कटान गरेर ७ मिटर सडक चौडाइ गरिने उनको भनाइ छ ।

सडक मर्मतको जिम्मा श्याम एण्ड शंकर जेभीलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग समन्वय गरी डिभिजन सडक कार्यालय सुर्खेतले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गराउन आग्रह गरेको छ ।

सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट सवारी साधन चलाउन सुरु गरिएको छ । दैलेख सडक भएर सदरमुकाम, वेस्तडा, नौमुले, जाजरकोट क्षेत्रमा जाने सवारी साधनलाई कर्णाली राजमार्गको बाँगेशीमल–तल्लो डुंगेश्वर–सियाकोट रुट तय गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

घूससहित मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ

रासस

चितवन — चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । 


मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।

यस्तै, अमिन कठायतका साथबाट तीन लाख ५० हजारको चेक र नगद एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×