१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वास्थ्य संस्थामा औषधि हाहाकार

दैलेख अस्पतालमा २ महिनादेखि अभाव, खरिद गरेको सबै औषधि सकिएपछि उपचारमै समस्या
 मुगुका ५८ स्वास्थ्य केन्द्र औषधिविहीन, ढुवानी समस्याले डोल्पामा औषधि नपुर्‍याउँदै बाटोमै गुज्रिन्छ म्याद

मुगु, दैलेख — सोरु गाउँपालिकाकी ३४ वर्षीया सत्यादेवी शाही २ साताअघि कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर जिल्ला अस्पताल आइन् । तर उनले उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट किन्नुपर्‍यो ।

स्वास्थ्य संस्थामा औषधि हाहाकार

‘डाक्टरले चेक गर्छन्,’ उनले भनिन्, ‘अनि औषधि ल्याउन मेडिकल पठाउँछन् ।’ उनले सरकारी अस्पतालमा औषधि नपाइँदा झन्डै ४ हजार रुपैयाँ खर्च भएको गुनासो गरिन् ।

जिल्ला अस्पतालमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, दम, झाडाबान्तालगायतका औषधि नपाइँदा विपन्न बिरामी मर्कामा परेका छन् । पैसा बोकेर आएका बिरामीले मेडिकलबाट औषधि ल्याएर उपचार गर्ने गरेको र रकम नभएकाहरू रोग नै बोकेर घर फर्कनुपरेको स्थानीय गेहेन्द्र मल्लले बताए ।

अस्पतालमा औषधिको हाहाकार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीलाई उपचार गर्न पनि सकस भएको छ । ‘औषधि छैन, कसरी बिरामीको उपचार गर्ने ?,’ जिल्ला अस्पतालका डा. नहकुल शाहीले भने, ‘यहाँ जाँच गर्छौं, औषधि किन्न कुरुवालाई मेडिकल पठाउने गरेका छौं ।’ अस्पतालले चालु आर्थिक वर्षमा खरिद गरेको सबै औषधि सकिएको उनले बताए । उनका अनुसार अस्पतालमा स्लाइन, जीवनजल, सुईद्वारा दिइने सिटामोल, एम्पीसिलिन, आस्थालिन, ब्रुफिन, सिट्रोजन, मेट्रोजन, एसिलकलगायत औषधि छैन ।

२ महिनायता औषधिको अभाव भएको उनले बताए । ‘मौसम परिर्वतनसँगै चिसो बढेपछि विभिन्न रोगका बिरामी बढेका छन्,’ डा. शाहीले भने, ‘तर औषधि नहुँदा बिरामीलाई रित्तो हात फर्काउनु परेको छ ।’ उनले दैनिक ७० जनासम्म बिरामी उपचारका लागि आइरहेको जानकारी दिए ।

बिरामीको उपचारमा समस्या भएपछि क्षेत्रीय मेडिकल स्टोरबाट औषधि ल्याउन पहल थालिएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । उनका अनुसार यो वर्ष औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट छुट्याइए पनि हालसम्म खरिद हुन सकेको छैन ।

औषधि नभएपछि मुगुका ५८ वटा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी फुर्सदिला बनेका छन् । औषधि अभावका कारण बिरामी नआएपछि उनीहरू फुर्सदिला बनेका हुन् । ‘सिटामोल नहुने स्वास्थ्यचौकीमा किन उपचार गर्न जाने ?,’ सोरु गाउँपालिकाका दिलबहादुर बुढाले भने, ‘औषधि नभएपछि अहिले स्वास्थ्यकर्मी भेटाउन पनि मुस्किल छ ।’ उनले पालिकाभरिका १६ वटै स्वास्थ्यचौकीमा औषधि नभएपछि सोरुकोट र बालुकुनाका मेडिकलमा उपचार गर्न जानुपर्ने बाध्यता भएको सुनाए । खत्याडका १७ र मुगुमकार्मारोङका १२ वटा स्वास्थ्यचौकी पनि लामो समयदेखि औषधिविहीन छन् ।

डोल्पाको शेफोक्सुन्डो गाउँपालिकामा सडक सुविधा छैन । ढुवानी समस्याकै कारण वर्षमा एकपटक मात्र औषधि खरिद गर्दा औषधिको म्याद बाटोमै सकिने जोखिम छ । ‘एक त पर्याप्त औषधि किन्न बजेट नै हुँदैन,’ गाउँपालिकाका स्वास्थ्य संयोजक रणबहादुर बुढाले भने, ‘खरिद गरेको औषधि पुग्न ढिलाइ हुँदा सधैं औषधिको अभाव भोग्नुपर्छ ।’ उनका अनुसार गत फागुनमा किनेको औषधि ढुवानी समस्याले चैत अन्तिम साता मात्र गाउँमा पुगेको थियो । उनले १०/१५ लाख रुयैयाँको औषधिमा ढुवानी गर्न कम्तिमा ६ लाख रुपैयाँ भाडा लाग्ने गरेको बताए ।

कर्णालीमा सुगम मानिने दैलेख अस्पतालमा पनि लामो समयदेखि औषधि समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले पर्याप्त बजेट नआउँदा औषधि अभावको समस्या सुरु भएको बताए । उनका अनुसार यो वर्ष प्रदेश सरकारले औषधि खरिद गर्न १५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । ‘१ सय ३ वटा स्वास्थ्य संस्थामा १५ लाख रुपैयाँको मात्रै औषधिले कसरी पुर्‍याउने ?,’ उनले भने, ‘जिल्ला अस्पतालमै सामान्य औषधिको पनि अभाव देखिन थाल्यो ।’

ठाँटिकाध गाउँपालिका–५ तोलीजैसी स्वास्थ्यचौकीमा पनि औषधि सकिएको झन्डै ३ महिना बित्यो । औषधि नभएपछि बिरामीलाई मेडिकलमा गई उपचार गराउनुपर्ने बाध्यता छ । पारासिटामोल, आइब्रुफिन, मेट्रोनिडाझोल, जीवनजललगायत सामान्य औषधि पनि नहुँदा बिरामीलाई रित्तो हात फर्काउनुपरेको स्वास्थ्यचौकी इन्चार्ज वसन्तप्रसाद सन्ज्यालले बताए । ‘बिरामीलाई जाँच गरेर मेडिकलमा पठाउनुपर्छ,’ उनले भने, ‘औषधि नभएपछि अहिले त बिरामी आउन पनि छाडिसके ।’

प्रकाशित : मंसिर १४, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?