कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्र्याक खुलेको ४६ वर्षपछि कालोपत्र हुँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — ट्र्याक खुलेको झन्डै ४६ वर्षपछि मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाविट–भेडाबारी सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । वैशाखमा १ अर्ब ५१ करोड रुपैयाँमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो ।

राजमार्ग आयोजना निर्देशनालयले सडक स्तरोन्नतिका लागि कालिका–केएस–बेदान्सी जेभीसँग १ अर्ब ३ करोड रुपैयाँमा सम्झौता गरेको हो ।

३० महिनामा काम सक्ने गरी सम्झौता भएको निर्देशनालयका इन्जिनियर शिव तिमिल्सिनाले बताए । ‘अहिले स्तरोन्नतिको कामभन्दा अगाडि पूरा गर्नुपर्ने प्रक्रियागत कामहरू भइरहेको छ,’ उनले भने, ‘वन कटानका लागि वन विभागबाट स्वीकृति लिने, लगत संकलन गर्ने, रूखको संख्या गन्ने, सर्भे लेआउट गर्नेलगायत कामहरू जारी छन् ।’

विस्तृत प्ररियोजना प्रतिवेदन (डीपीआर) तयार भएको लामो समयपछि मात्रै सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको हो । डीपीआर गर्दा कुल १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । ३५ किलोमिटर लामो धुलियाबिट–भेडाबारी खण्ड करिब ४ मिटर मात्रै चौडा छ । ९ मिटर फर्मेसन ब्रिज रहने गरी सडक स्तरोन्नति गर्दा ७ मिटर चौडाइ बराबर कालोपत्र गरिनेछ । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिका–११ र १३, लेकबेंसी नगरपालिका–१, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिका–१०, १२, १३ र १४ वासी प्रत्यक्ष प्रभावित हुनेछन् ।

२०३२ मा खोलिएको ट्र्याकको स्तरोन्नति नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक दूरवस्थाका कारण नै यो खण्डमा पटक–पटक सवारी दुर्घटना भएका छन् । स्तरोन्नति नहुँदा वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । सडक स्तरोन्नति हुने थाहा पाएपछि लेकबेंसी नगरपालिकाका ८१ वर्षीय लोकबहादुर राना निकै उत्साहित छन् । आफू युवावस्थामा हुँदा खुलेको ट्र्याकमा कालोपत्र भइदेओस् भन्ने धोको पहिलेदेखि नै भए पनि बल्ल पूरा हुन थालेको उनले सुनाए । ट्र्याक खोल्ने क्रममा दशरथपुरको गोरामारेदेखि गुमीसम्म आफूले पनि काम गरेको उनले सम्झिए ।

‘आफैंले मरीमरी सडक खनिएको हो, चाँडै नै ठूलो बाटो बन्ला भनियो तर बनेन,’ उनले भने, ‘अब भने यो बाटो चिल्लो भएको हेरेर मरिने भइयो भन्ने लागेको छ, कहिलेकाहीँ त आस पनि लाग्दैन धेरै पटक बन्ने आश्वासन त सुन्दै आएका हौं ।’

सडक स्तरोन्नति भए अन्तरनगर आर्थिक समृद्धि हुने लेकबेंसी नगर प्रमुख गगनसिं सुनार बताउँछन् । सडक बनेपछि नागरिकले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताबाट पनि मुक्ति पाउने उनको भनाइ छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि २०३२ मा यो ट्रयाक खोलिएको उनले जनाए ।

प्रकाशित : मंसिर १४, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?