मदिरा सेवनबाट आपराधिक घटना बढ्दै- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिरा सेवनबाट आपराधिक घटना बढ्दै

विप्लव महर्जन

सल्यान — केही दिनअघि शारदा नगरपालिका ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको हत्या गरेको आरोपमा प्रहरीले मृतककी भाउजु २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेललाई पक्राउ गर्‍यो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मदिरा सेवन गरेर राधा र लक्ष्मीले धारिलो हतियार प्रयोग गरी देवरको हत्या गरेको खुल्न आयो । घटनापछि उनीहरूले प्रमाण नष्ट गर्न देवरलाई घर नजिकै राति नै जलाएका थिए । अहिले दुवैजना प्रहरीको हिरासतमा छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ५५ वर्षीय नीमबहादुर कुवरले धारिलो हतियार (खुर्पा) प्रयोग गरी २०७८ असोज २६ गते ३३ वर्षीय छोरा रुपलाल कुवरको हत्या गरे । दसैंको समयमा छोराले थोरै मासु दिएको भन्दै झगडा परेको कुरा बाहिरिए पनि छोराले बेलाबेलामा गाली गलौज गरेर मानसिक तनाब दिने गरेको कारण आवेगमा उनले आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरे । छोराको हत्यापछि उनी अहिले जेल चलान भएका छन् ।

यस्तै कुमाख गाउँपालिका ५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले पनि २०७८ कात्तिक २ गते घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान र श्रीमतीबीच दैनिक झगडा पर्ने गरेको थियो । श्रीमतीको हत्या गर्नुअघि उनले अत्याधिक मदिरा सेवन गरेका थिए ।

अपराध न्युनिकरणका लागि सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैआए पनि जिल्लामा गम्भीर प्रकृतिका अपराधका घटना बढ्दैगएको प्रहरीले जनाएको छ । खुला रुपमा पाइने घरेलु तथा सीलबन्दी मदिराका कारण जिल्लामा गम्भीर किसिमका हत्या, बलत्कार, बोक्सीको आरोपमा कुटपिट, अभद्र वयवहार, घरेलु हिंसा जस्ता आपराधिक घटना बढदैगएको प्रहरीको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा २०७५/७६ मा १ सय ४ आपराधिक घटना भएका थिए । त्यसमध्ये सबैभन्दा बढी हत्या १४, अभद्र व्यवहार २५ र १३ वटा बलत्कारका घटना थिए । ०७६/०७७ मा १ सय २२ घटना भएका थिए । जसमा बलत्कार र उद्योग २६, अभद्र व्यवहार २७, हत्या ४ लगायत अन्य छन् । ०७७/०७८ मा १ सय ३७ घटना भए ।

हत्या १२, हत्याको उद्योग १०, बलत्कार ३०, उद्योग ६ लगायत अन्य छन् । यस्तै आब ०७८/०७९ को चार महिनाको अवधिमा ५० घटना भइसकेका छन् । जसमा कर्तव्य ज्यान ४, ज्यान मार्ने उद्योग ७ र बलत्कार तथा उद्योग १२ छन् ।

सल्यानमा मदिरा सेवनका कारण ८० प्रतिशत गम्भीर र अन्य अपराधका घटना घटेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काले बताएका छन् । बैदेशिक रोजगारी, गरिबी र बालविवाहले पनि आपराधिक गतिविधि बढ्दैगए पनि सबैभन्दा बढी मदिरा सेवनकै कारण भएको प्रहरीको तथ्यांक छ । प्रनाउ खड्काका अनुसार मदिरा सेवनका कारण जिल्लामा भएका ८० प्रतिशत अपराधका घटनामध्ये ९० प्रतिशत प्रत्यक्ष र १० प्रतिशत अप्रत्यक्ष छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार पछिल्लो समय पीडित पक्षले धमाधम उजुरी गर्ने क्रम बढेको छ । जसले गर्दा आपराधिक घटना बढेको देखिएको उनको भनाइ छ ।

भौगोलिक रुपमा हेर्दा तुलनात्मक रुपमा विकट क्षेत्रमा मदिराका कारण बढी घटना हुने गरेको तथ्यांक छ । साथै त्यस्ता क्षेत्रका घटना अनुसन्धानमा पनि कठिनाइ हुने प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले भने प्रहरीको एक्लो अभियानले मात्रै अपराधका घटना कम नहुने बताइन् । ‘आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाका ३४ स्थानमा प्रहरी चौकी, बिट राखेर सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रहरी परिचालन गरेर मदिरा नियन्त्रणको पनि प्रयास भइरहेको छ’ उनले भनिन् ‘सुरक्षाकर्मीको मात्र एक्लो प्रयासले सम्भब छैन । सरकोकारवाला सबैले साथ दिनुपर्छ ।’

प्रकाशित : मंसिर १३, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

अझै खलो प्रथाबाट जीविकोपार्जन

‘कोरोना महामारीले मजदुरी गर्ने अवस्था पनि भएन, त्यसैले फेरि आरन चलाउनुपर्ने बाध्यता भयो’ 
सरकारले १० वर्षअघि नै बालीघरे तथा खलो प्रथा अन्त्यको घोषणा गरे पनि विपन्न अवस्थाका दलित समुदाय अझै खलो प्रथामा निर्भर छन् 
विप्लव महर्जन

सल्यान — सिद्धकुमाख गाउँपालिकास्थित टाकुराका कर्णबहादुर विकले १४ वर्षदेखि गाउँमा आरन सञ्चालन गरिरहेका छन् । उनले गाउँका झन्डै १ सय परिवारका लागि फलामका कुटो, कोदाली, हँसिया, बञ्चरोलगायत फलामका औजारहरू निर्माण र मर्मत गर्छन् ।

उनलाई त्यसबापत स्थानीयले सिजनअनुसारको मकै, गहुँ र धान दिने गरेका छन् । ‘गाउँभरिका बासिन्दाका लागि वर्षभरि नै फलामका औजार बनाइदिने गरेको छु,’ उनले भने, ‘तर ज्या भने सिजनअनुसार एक/एक पाथी अन्न मात्र हुन्छ ।’ उनका छिमेकी अम्मरबहादुर परियारले पनि गाउँभरिका मानिसहरूको लुगा सिलाउँछन् । ‘एक पाथी अन्नको भरमा गुजारा कसरी गर्ने ?,’ उनले भने, ‘लगानी नहुँदा पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउन सकिएको छैन ।’

उनले सरकारी निकायले पुर्ख्यौली पेसामा निर्भर दलित समुदायलाई बेवास्ता गरेको गुनासो गरे । सरकारले १० वर्षअघि नै बालीघरे तथा खलो प्रथा अन्त्यको घोषणा गरे पनि विपन्न अवस्थाका दलित समुदाय अझै खलो प्रथामा निर्भर छन् । जहाँ पनि टाठाबाठाकै हालीमुहाली हुँदा आफूहरू समस्यामा परेको बन्गाडकुपिण्डे नगरपालिकाका पूर्णबहादुर नेपालीले बताए । उनले २० वर्षदेखि स्थानीयलाई आवश्यक पर्ने फलामका विभिन्न औजार बनाउन गाउँमा आरन चलाएका छन् ।

दैनिक हँसिया, खुकुरी, खुर्पालगायत हतियार बनाएर परिवार पाल्न समस्या भएको उनले गुनासो गरे । ‘सरकारले जहिले पनि टाठाबाठालाई मात्र हेर्छ,’ उनले भने, ‘तालिम र अनुदान पार्टीका कार्यकर्तालाई मात्र दिइँदा हामीलाई २ छाक टार्न समस्या भयो ।’ खेती गर्न पर्याप्त जग्गा नहुँदा आफ्नै उत्पादनले एक महिना पनि खान नपुग्ने गरेको उनको भनाइ छ । उनले बजार नजिकै नहुँदा मजदुरी गर्न पनि समस्या भएको बताए ।

स्थानीय तहले पनि रोजगारीको व्यवस्था गर्न नसक्दा खलो प्रथामै निर्भर हुन बाध्य भएको काभ्राका निर्मल दमाईंले बताए । उनले ३ वर्षअघि खलो प्रथा त्यागेर मजदुरी गर्दै आए पनि कोरोनाका कारण रोजगारी गुमाएको बताए । ‘कोरोना महामारीले मजदुरी गर्ने अवस्था पनि भएन,’ उनले भने, ‘त्यसैले फेरि आरन चलाउनुपर्ने बाध्यता भयो ।’

प्रकाशित : मंसिर १३, २०७८ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×