कांग्रेस सुर्खेत सभापतिमा देउवा पक्षका पोखरेल निर्विरोध- कर्णाली - कान्तिपुर समाचार

कांग्रेस सुर्खेत सभापतिमा देउवा पक्षका पोखरेल निर्विरोध

चाँदनी कठायत

वीरेन्द्रनगर — नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्ग पोखरेल निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शनिबारदेखि सुरु भएको निर्वाचनमा प्रक्रियामा सभापतिमा पोखरेलबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।



महाधिवेशन प्रतिनिधिमा रामचन्द्र पौडेल समूहबाट कुनै व्यक्ति व्यक्ति निर्वाचित नभएपछि पोखरेलको एकल उम्मेदवारी परेको थियो । निर्वाचन समितिले शनिबार राति सभापतिमा पोखरेललाई निर्विरोध निर्वाचित घोषणा गरेको हो ।

सिम्ता गाउँपालिका राकम घर भएका पोखरेल यसअघि दुई कार्यकाल कांग्रेसको क्षेत्र नं १ को क्षेत्रीय सभापतिसमेत बनेका थिए । उपसभापतिसहितका बाँकी पदहरूमा भने आइतबार निर्वाचन हुनेछ । सोही पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनावी मैदानमा छन् ।

रामचन्द्र पौडेल पक्षबाट भने महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षलाई संस्थापन पक्षले क्लिन स्वीप गरेपछि सभापति बाहेकका पदका लागि चुनावी मैदानमा छन् । उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्त छन् । निर्वाचन बिहान ११ बजेबाट सुरु भएर साँझ ५ बजे मतदान गर्ने समय रहेको निर्वाचन अधिकृत मदन रेग्मीले जानकारी दिए ।

प्रकाशित : मंसिर १२, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

कलिलैमा विवाह र सम्बन्धविच्छेद

सानै उमेरमा विवाहपछि गर्भवती हुने किशोरी र बच्चाको स्वास्थ्यमा गम्भीर असर, बालविवाहविरूद्धको कार्यक्रम भएन प्रभावकारी
हरि गौतम

रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, सिस्नेकी एक किशोरी १६ वर्षकी भइन् तर उनको पेटमा बच्चा हुर्किरहेको छ । श्रीमान् भने साथमा छैनन् । यसको कारण कतै कमाउन गएर होइन, न त कतै पढ्न गएर नै हो । उनी एक्लो हुनुको कारण हो, सम्बन्धविच्छेद । १५ वर्षमा बिहे गरेकी उनको १६ वर्षमा नै सम्बन्धविच्छेद भयो । त्यसको केही समयपछि मात्रै उनी गर्भवती भएको थाहा भयो । अभिभावक र गाउँलेले सम्बन्धविच्छेद गरिसकेको केटासँग कुरा गरे । गाउँमै एक लाख रुपैयाँमा कुरा मिल्यो ।

ती किशोरीले बच्चा जन्माएर ५ वर्ष पालेर अब श्रीमान्लाई बुझाउने गरी सम्झौता भएको छ । उनीहरूको न विवाह दर्ता छ, न त सम्बन्धविच्छेद भएको कागजात नै । केटाकेटी भागेर गए । उनीहरूको बिहे भयो । गाउँलेले बिहे भएको स्वीकृति दिए । दुवै जनाबीच मनमुटाव भयो । गाउँले बसेर छुट्याइदिए । त्यही केटाले अहिले फेरि १३ वर्षीया युवतीलाई भगाएर बिहे गरेका छन् ।

सिस्नेको यो एउटा उदाहरण मात्रै हो । यहाँ ठूला पाँच गाउँ छन् । हरेक गाउँको समस्या यही हो । १२ वर्षपछि बिहे हुन थाल्छ । ६ कक्षा पढेपछि बिहे गर्न थाल्छन् । केटाकेटी दुवैले मञ्जुरी छ भन्दै भागिदिन्छन् र अभिभावक पनि त्यसैलाई विवाह भएको मान्छन् । सिस्नेभर हाल २० वर्ष पुगेर पनि विवाह नभएका २ जना किशोरी मात्र छन् । बाँकी सबैको उमेर नपुगी विवाह भइसकेको छ । ‘१३ वर्षदेखि बिहे गर्न थालिहाल्छन्,’ पाखापानीकी कमला बुढाले भनिन्, ‘१५/१६ वर्षमा विवाह भएन भने त यसको अब विवाह हुने भएन भनेर गाउँभरि कुरा काट्न थाल्छन् । विवाह नगरी नहुने जबर्जस्ती वातावरण बनिदिन्छ ।’ उनले कतिले अभिभावकको मञ्जुरबिना सानै उमेरमा विवाह गरे पनि कतिपय भने गाउँको वातावरणका कारण पनि कलिलै उमेरमा विवाह गर्न बाध्य हुने गरेको सुनाइन् ।

भट्टेचौरकी एक किशोरी बच्चा बोकेर सोही ठाउँमा रहेको स्वास्थ्य चौकी आइन् । बच्चा बिरामी भयो, उपचार गराई पाउँ भनेर आएकी उनी आफैं त्यो बच्चाकी आमा थिइन् । आफू भर्खर १७ वर्ष पूरा भएको बताएकी उनको डेढ वर्षको छोरा छ । कति वर्षको उमेरमा विवाह भएको भन्ने प्रश्नमा उनी केही बोलिनन् । तर, उनको छोराको स्वास्थ्य परीक्षण गरिरहेकी स्थानीय समेत रहेकी अहेब शर्मिला बुढाले १५ वर्षमा विवाह भएको भनेर जानकारी दिइन् । उनका अनुसार त्यो वडामा १५ देखि १६ वर्षमा सबैको विवाह भइसक्छ । त्यो वडा साबिकको सिस्ने गाविस हो । विवाह भएका सबैको विवाह कायम हुन्न । आधाजतिको डिभोर्स हुन्छ । फेरि अर्को घरबार गर्नुपर्ने हुन्छ । पछिल्लो केही महिनामा मात्रै सो वडाका १९ जोडीले विवाह गरेका छन् । उनीहरू कोही पनि १७ वर्ष पूरा भएका छैनन् । यसले कलिलो उमेरमा नै किशोरकिशोरीले विभिन्न समस्या भोग्नुपरेको छ ।

सिस्ने–१ का वडाध्यक्ष मानबहादुर बुढाले यो समस्या पुरानै भएको बताए । ‘चलिआएको चलनजस्तै भएको छ, पठनपाठनको वातावरण बन्दा पनि बाल विवाह र कलिलैमा हुने डिभोर्स रोकिएको छैन,’ उनले भने । उमेर नपुगेको विवाहलाई वडा कार्यालयमा दर्ता गर्ने कुरा भएन । उमेर नपुगेर विवाह गरेकाहरू विवाह दर्ता गर्न कार्यालय पनि आउँदैनन् । वडाध्यक्ष बुढाले गाउँघरमा बालविवाह धेरै हुने तर आधिकारिक तथ्यांकमा भने नदेखिने गरेको बताए । बेलाबेला हुने बाल विवाहविरुद्धका कार्यक्रम, सचेतनामूलक गोष्ठीले पनि यसलाई रोक्न नसकिएको स्वीकारोक्ति वडाध्यक्ष बुढाको छ । कलिलो उमरमै विवाह, गर्भवती र सम्बन्धविच्छेद हुने भएकाले ती किशोरी र बच्चाको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्वास्थ्यकर्मी शर्मिला बुढाले बताइन् । भन्दा, सम्झाउँदा पनि त्यतापट्टि कसैको ध्यान नगएको उनको अनुभव छ ।

प्रकाशित : मंसिर १२, २०७८ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×