कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बालविवाहको पीडामा किशोरीहरू

बालविवाह न्यूनीकरण, महिनावारी व्यवस्थापनलगायतमा नरहरिनाथ गाउँपालिकाबाट १० लाख विनियोजन
तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ–१ कोटवाडाकी १४ वर्षीया किशोरीले ५ वर्षअघि तिलागुफा–७ छाप्रेका १६ वर्षीय किशोरसित विवाह गरिन् । ७ कक्षा पढ्दै गरेकी उनले विवाह गरेको एक वर्षमै १५ वर्षमा छोरी जन्माउँदा शल्यक्रिया नै गर्नुपर्‍यो ।

बालविवाहको पीडामा किशोरीहरू

छोरी जन्माएपछि उनको घरमा कलह सुरु हुन थाल्यो । परिवारका सबै सदस्यले दिनहुँजसो कुटपिट गर्न थालेपछि उनले एक वर्षअघि १९ वर्षको उमेरमा नरहरिनाथ–८ लालुमा दोस्रो विवाह गरिन् । दोस्रो विवाह पनि सफल नभएपछि उनी अहिले माइतीमै छिन् । ‘बालविवाहले मेरो जीवन नै बर्बाद भयो,’ उनले भनिन्, ‘अहिले घरकी न घाटकी भए, पेट दुख्ने बिमारले सताएको छ ।’

खाडाचक्र–२ धैनेडीकी अर्की १४ वर्षीया किशोरीले पनि ७ कक्षामा पढ्दै गर्दा ३ वर्षअघि भागी विवाह गरिन् । १५ वर्षमा गर्भवती भएर १६ वर्षर्मा छोरी जन्माएकी उनका पतिले एक वर्षअघि अर्की पत्नी ल्याएपछि अहिले न्याय माग्दै सदरमुकाम पुगेकी छन् । उमेर नपुग्दै गर्भवती भएर बच्चा जन्माएकी उनका आमाछोरी दुवै कुपोषित छन् । ‘मेरो जाने ठाउँ कतै छैन,’ उनले भनिन्, ‘छोरी जन्माएपछि परिवारका सबै जनाले घरबाट निस्की भन्दै दिनदिनै कुटपिट गर्छन् ।’ आफ्नो नागरिकता र छोरीको जन्मदर्ता नहुँदा उनलाई कानुनी लडाइँ लड्नसमेत समस्या भएको छ ।

पछिल्लो समयमा आमाबाबुले मगनी गरेर बाजागाजा बजाएर विवाह गर्ने चलनमा कमी आए पनि बालबालिकाले आफैं भागेर विवाह गर्ने अवस्थामा कमी आएको छैन । जिल्ला समन्वय समितिले दुई वर्षअघि केही संस्थाको सहयोगमा गरेको सर्भेक्षणअनुसार कालीकोटमा २० वर्षमुनिको विवाहमध्ये आफैं भागेर विवाह गर्ने ६१ प्रतिशत रहेको देखिएको थियो । अध्ययनमा संलग्न बालअधिकारकर्मी बाले विश्वकर्माका अनुसार नरहरिनाथ, सान्नी त्रिवेणी र रास्कोटमा बालविवाहको जालो डरलाग्दो छ । तिलागुफा र शुभकालिकामा सन् २०२० मा ४ सय ३४ वटा विवाह भएकोमा १ सय ६९ जना विवाह २० वर्षमुनिका भएका थिए । तीमध्ये १ सय ५६ केटाकेटीले आफैं भागेर विवाह गरेका हुन् । बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले प्रयास थालेपछि त्यो संख्या अहिले घटेको जनप्रतिनिधिहरूको दाबी छ । ‘अभिभावक र समुदायमा आएको सचेतनाले बाजागाजा बजाएर बालविवाह गर्ने चलन घट्दो छ,’ नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भने, ‘केटाकेटी आफैं भागेर जाँदा हाम्रा प्रयास पनि असफल भएका छन् ।’

उनले अटेर गर्ने केहीलाई प्रहरी लगाएर फिर्ता गरे पनि केही दिनपछि फेरि भागेर गइहाल्ने समस्या रहेको सुनाए । बालविवाह न्यूनीकरण, महिनावारी व्यवस्थापनलगायत शीर्षकमा गाउँपालिकाले यो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गरिबी, गुणस्तरीय शिक्षाको कमी, छोरीलाई बोझको रूपमा लिने कुसंस्कार, प्रभावकारी कानुन कार्यान्वयनको अभावलगायत कारण बालविवाह बढेको मनोविर्मशकर्ता डिलबहादुर शाहीले बताए । उनका अनुसार कलिलैमा आमा बन्दा आमा र शिशुको मृत्यु, कुपोषण, पाठेघर खस्ने, पढाइमा अवरोध, पारिवारिक बेमेल, सम्बन्धविच्छेदलगायत समस्या देखिएका छन् ।

बालविवाह रोक्न बालविवाहविरुद्धको रणनैतिक योजना निर्माण गरी विद्यालय शिक्षा, किशोर–किशोरीलाई बृहत्तर यौनिक शिक्षालगायत कार्यक्रम सञ्चालन गरिरहेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । कालीकोटमा दिनहुँ बालविवाहका घटना सार्वजनिक हुन थालेपछि नियन्त्रण गर्न प्रहरी पनि सक्रिय भएको छ ।

एक वर्षको अवधिमा १ सय ३९ वटा बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । ‘धेरैजसो त बालविवाहका घटना लुकाउनतिर लाग्छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले भने, ‘तर कानुनले कसैलाई छुट दिँदैन ।’ उनका अनुसार प्रहरीले बालविवाहको असर र कानुनी प्रावधानबारे घरदैलो अभियान जिल्लाभरि सञ्चालन गरिरहेको छ ।

जिल्ला अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये झन्डै ८० प्रतिशत मुद्दा बालविवाह गरेकाका कारण आउने गरेको जिल्ला वारका सचिव अमलराज शाहीले बताए । उनले महिला हिंसाको प्रमुख कारण बालविवाह बनेको बताए । ‘सकेसम्म उजुरी नै गर्न आउँदैनन्,’ उनले भने, ‘आइहाले पनि मिलापत्रैमै टुग्यांउने प्रवृत्ति छ ।’

त्यस्तै, १४/१५ वर्षको उमेरमा विवाह गरी १६/१७ वर्षमै आमा बन्ने किशोरीको संख्या कालीकोटमा करिब ७ सय रहेको स्वास्थ्य सेवा कार्यालयको पहिलो गर्भ जाँच रेकर्डले देखाएको छ । बालविवाहले पढाइमा पनि असर पारिरहेको छ । आधारभूत र मावि तहको शिक्षामा छोरा र छोरीको संख्यामा त्यति धेरै फरक नभए पनि उच्च शिक्षामा भर्ना हुने छात्राको प्रतिशत ३२ मात्र रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेशदत्त देवकोटाले बताए ।

प्रकाशित : मंसिर १२, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?