देवरको हत्या आरोपमा दुई महिला पक्राउ

विप्लव महर्जन

सल्यान — सल्यानको शारदा नगरपालिका ५ रानीकोटस्थित देवरको हत्या गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ३३ वर्षीय शेरबहादुर चन्दको हत्यापछि शव जलाएको खुल्न आएपछि प्रहरीले भाउजु २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेललाई पक्राउ गरेको हो ।

शेरबहादुर चन्दको घर नजिकै बारीको ढिकमा आधा जलेको अवस्थामा शव फेला परेपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो । घटनाको प्रकृति हेर्दा हत्या नै भएको र शव आधा जलेको अवस्थामा भेटिएपछि हत्याराले प्रमाण नष्ट गर्न जलाएको अनुसन्धान अधिकृत प्रनि श्यामप्रसाद यादवले बताए ।

यादवका अनुसार कसरी र के कारणले हत्या गरेको भन्नेबारे खुल्न सकेको छैन । उनका अनुसार पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक श्याम प्रसाद यादवका अनुसार मृतककी भाउजु लक्ष्मीले शुक्रबार बिहान सदरमुकाम खलंगामा रहेको एक बैंकमा गएको बेला स्थानीय अटो चालक शेरबहादुर बुढाथोकीसंग देवरले बलत्कार गर्न खोज्दा घटना भएकोबारे भन्दै आफूलाई बचाइदिन अनुरोध गरेपछि घटना बाहिरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रकाशित : मंसिर १०, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?