१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

किवीबाट वार्षिक २० लाख आम्दानी

विप्लव महर्जन

सल्यान — गंगादेव गाउँपालिका–३ चामेका ४५ वर्षीय इन्द्रबहादुर खत्रीले किवी खेतीबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३४ रोपनी जग्गामा करिब १ हजार किवीका बोट लगाएका छन् । २०५२ देखि किवी खेती सुरु गरेका उनको बगैंचामा झन्डै ८ सय बोटले उत्पादन सुरु गरेका छन् ।

किवीबाट वार्षिक २० लाख आम्दानी

किवी र बेर्ना बिक्री गरी गत वर्ष खर्च कटाएर २० लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । उनले गत वर्ष ९ लाखको किवी बिक्री गरेका थिए भने बेर्नाबाट ११ लाख रुपैयाँ आम्दानी गरे । परिवार पाल्न १५ वर्षअघिसम्म उनी भारतका विभिन्न ठाउँ गई मजदुरी गर्न बाध्य थिए । मजदुरी गर्ने क्रममा उनले भारतको हिमाञ्चल प्रदेशको एक किवी फार्ममा काम गर्ने अवसर पाएका थिए । ‘भारतमा सिकेको सीपले अहिले आत्मनिर्भर बनाएको छ,’ उनले भने, ‘न बिक्रीमा समस्या छ, न खेती गर्न नै दुःख ।’ करिब ३ वर्ष किवी फार्ममा काम गरेका उनले घर फर्किएपछि किवी खेती गर्ने निर्णय लिएका हुन् । जसका लागि उनले १२ वटा किवीका बोट भारतबाट ल्याएका थिए ।

किवी खेतीमा लागेपछि सजिलै १० जनाको परिवार पाल्दै आएको उनले बताए । किवीबाट आएको आम्दानीले उनले दाङको तुल्सीपुरमा पक्की घर बनाएका छन् भने गाउँमा १ सय २० रोपनी जग्गा किनेका छन् । त्यो जग्गामा क्रमशः किवी खेती गर्ने उनको योजना छ । ‘अहिले परिवार पाल्नमा लागि न त कालापहाड जानुपरेको छ, न अन्य काम गर्नका लागि साहुसँग ऋणसापटी गर्न नै,’ उनले भने, ‘गर्न सके गाउँमै राम्रो कमाइ गर्न सकिन्छ ।’ अहिले बारीमा ६० क्विन्टल किवी उत्पादन भएको उनले जानकारी दिए । उनले उत्पादन गरेको किवी १ सयदेखि १ सय ५० रुपैयाँका दरले व्यापारीले बारीमै आएर खरिद गर्छन् । व्यापारीले किवी बिक्रीका लागि काठमाडौंसम्म पुर्‍याइरहेको उनले जानकारी दिए ।

द्वन्द्वकालमा विभिन्न समस्या भएकाले ८ वर्षअघिबाट मात्र किवीलाई व्यावसायिक बनाएको उनको भनाइ छ । उनले वार्षिक करिब १५ हजारसम्म किवीका बेर्ना बिक्री गरिरहेका छन् । गाउँमै १० रुपैयाँका दरले किवीका बेर्ना बिक्री भइरहेका छन् । अहिले उनको किवी फार्ममा घरका १० सदस्यसहित बाहिरका ४ युवाले रोजगारी पाएका छन् । तर किवी खेतीका लागि सरकारी निकायबाट प्राविधिक सहयोग नपाइएको उनले गुनासो गरे । उनले वर्षाको समयमा पहिरोले करिब २ सय किवीका बेर्ना बगाउँदा ठूलो क्षति भएको बताए । चामेमा किवी राम्रो उत्पादन हुन थालेपछि अहिले गंगादेव गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । अहिले चामेका करिब २ सय ५० परिवारले बारीमा किवीका बेर्ना लगाएका छन् ।

प्रकाशित : मंसिर १०, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?