रुकुम पश्चिम कांग्रेस सभापतिमा वली - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम पश्चिम कांग्रेस सभापतिमा वली 

हरि गौतम

रुकुम पश्चिम — नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्लासभापतिमा प्रेमप्रकाश वली दोहोरिएका छन् । छैटौं जिल्ला अधिवेशनमा निर्वाचनमार्फत सभापति चुनिएका ओली सातौं अधिवेशनबाट भने सहमतिमार्फत सभापति चुनिएका हुन् ।

कांग्रेसले मंसिर ६ गते अधिवेशनको उद्घाटन गरेको थियो । त्यसको दुई दिनपछि सहमतिमै चयन भएका जिल्ला तथा क्षेत्रीय कार्य समितिको टुंगो लागेको कांग्रेसले जनाएको छ । जिल्लाको उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन् । सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्कालाई चयन गरिएको नव निर्वाचित सचिव शाहीले जानकारी दिए ।

कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनीत गर्ने छ । गएको कार्यकालमा कोषाध्यक्ष रहेका मोहवीर खड्कालाई नै फेरि पनि कोषाध्यक्ष मनोनीत गर्ने तयारी गरिएको छ । क्षेत्रीय सभापतितर्फ ‘क’ निर्वाचन क्षेत्रमा महेन्द्र केसी र ‘ख’ निर्वाचन क्षेत्रमा भद्रबहादुर विष्टलाई सर्वसम्मत चयन गरिएको छ ।

महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सहमतिमार्फत नै चयन गर्ने भन्दै त्यो सूची भने सार्वजनिक गरिएको छैन । एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिमा आकांक्षीको संख्या धेरै छ । जिल्लाका अधिकांश नेताहरू संस्थापन पक्षतर्फ लागेको र सहमतिका लागि सहज भएको एक नेताले बताएका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

धुम्मियो आकाश, बढ्यो प्रदूषण

वर्षा भए वा पश्चिमी वायुको गति बढे मात्र थिग्रिएको प्रदूषण हट्ने 
अब्दुल्लाह मियाँ

काठमाडौँ — केही दिनयता हावाको गति कमजोर भएकाले काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थिग्रिएर बसेको बताए । ‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ । त्यसले हल्का वर्षा गरायो र हावाको गति बढायो भने तैरिएर बसेको प्रदूषण हट्छ र आकाश सफा हुन सक्छ ।’

काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) केही दिनयता बढ्दै गएको छ । मंगलबार साँझ एक्यूआई प्रतिघण्टा ३०८ रहेको विराटनगरमा बुधबार साँझ २७१ मा झरेको थियो । मंगलबार साँझ २१६ रहेको सिमराको एक्यूआई बुधबार साँझ २०९ रहेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई २०१ नाघे त्यो क्षेत्रलाई अस्वस्थकर मानेको छ । उसले एक्यूआई ३५ लाई स्वस्थ, २०१–३०० लाई अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानेको छ । केही दिनदेखि काठमाडौंसहित तराईका विभिन्न स्थानमा भिजिबिलिटीसमेत घट्दो छ । मौसमविद् प्रधानांगका अनुसार मंगलबार ५ किलोमिटर रहेको काठमाडौंको भिजिबिलिटी बुधबार बेलुकी साढे ३ किमिमा झरेको थियो ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्मा चिसोको मात्रा बढेसँगै हावाको वेग घट्ने भएकाले वायुमण्डलमा प्रदूषण तैरिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘हावा पनि नचल्ने र वर्षा पनि नभएका बेला प्रदूषण जहाँको त्यहीँ तैरिएर बसेको हुन्छ,’ उनले भने, ‘एक–दुई दिनयता काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भएको त्यही हो ।’ गत वर्ष पनि वायुमण्डलमा अत्यधिक प्रदूषण बढेर आँखा पोल्ने र दिउँसै अँध्यारो भएपछि सरकारले विद्यालय नै बन्द गरेको थियो ।

वातावरण विभागका विज्ञ शंकरप्रसाद पौडेलले यो वर्ष भने वायुको गुणस्तर सूचकांक गत वर्षजस्तो नभएको बताए । ‘विराटनगर र सिमरामा बाहेक अन्यत्र प्रदूषणको मात्रा अस्वस्थ छैन,’ उनले भने । तर, सीमा जोडिएको दक्षिणी भागबाट प्रदूषण भित्रिरहेकाले नेपाली आकाशमा त्यसको असर देखिन थालेको उनले बताए । ‘यो हट्नका लागि पश्चिमतिरबाट द्रुत गतिको वायु चल्नुपर्छ,’ उनले भने ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको एयरक्वालिटी टेक्नोलोजी कम्पनी ‘आईक्यू एयर’ ले काठमाडौंलाई मंगलबारदेखि नै विश्वका ९३ सहरमध्ये एक्यूआई बढी भएको १० सहरभित्र राखेको थियो । पहिलो नम्बरमा बंगलादेशको ढाका थियो । गत वर्ष पनि काठमाडौं पहिलो सूचीमा थियो । विभागका अनुसार बुधबार बेलुकी वायुको गुणस्तर सूचकांक (प्रतिघण्टाका हिसाबले) पोखरामा १७०, धनकुटामा १२०, धनगढीमा १६४, रत्नपार्कमा १६१, भक्तपुरमा ३२, जनकपुर १०४, हेटौंडामा १२७, शंखपार्कमा ११६ र रारामा १० पुगेको थियो ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । त्यस्तै, काठमाडौंमा हावामा हानिकारक कणको मात्रा पनि अत्यधिक हुने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । जाडो महिनामा मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा उच्चस्तरमा पुग्ने गरेको छ । काठमाडौंमा सरकारले तोकेको पीएम १० को मापदण्डभन्दा पाँच गुणासम्म बढी पाइएको छ ।

विराटनगरमा बुधबार पीएम १० को मात्रा २७३.२ माइक्रोग्राम प्रतिघनमिटर र पीएम २.५ को मात्रा २२९.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यस्तै, सिमरामा पीएम १० को मात्रा १८७.५ र पीएम २.५ को मात्रा १७२.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ ।

डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । प्रदूषणकै कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

सरकारले २०७६ सालमा स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्यूआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । कार्ययोजनामा उपत्यकाको वायु प्रदूषण नियमन गर्न आकर्षित धेरै कार्यक्रम प्रस्ताव गरिए पनि सरकारले तिनलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । कार्ययोजनामा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न एक वर्षभित्र चार्जिङ सुविधा भएका बस टर्मिनलहरू एवं चार्जिङ स्टेसनहरूको विकास गर्ने, पर्यटकीय तथा सांस्कृतिक रूपमा संवेदनशील क्षेत्रमा धूवाँरहित सवारीसाधन, रिक्सा, साइकलमात्र चल्न दिइने उल्लेख छ ।

वातावरणविद् भूषण तुलाधर कार्ययोजनामा थुप्रै काम गर्ने भनिए पनि झिना मसिनाबाहेक गर्नुपर्ने मुख्य कामको सुरुवात नै नभएको बताउँछन् । ‘पटक–पटक वातावरण मन्त्रालयलाई झकझक्याएका छौं,’ उनले भने, ‘तैपनि कार्ययोजना कार्यान्वयनमा पहलदकमी भएको छैन । जसले गर्दा समस्या जहाँको त्यहीँ छन् ।’ वातावरणमन्त्रीको अध्यक्षतामा बस्ने भनिएको समन्वय समितिको बैठक दुई वर्षमा एकपटक पनि बसेकै छैन भने वातावरण सचिवको अध्यक्षतामा बस्ने समन्वय बैठक अहिलेसम्म एकपटक बसेको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले चिसो बढेपछि प्रदूषण पनि बढ्ने र त्यसपछि मात्र सबैले चासो दिने गरेको बताउँछन् ।

प्रकाशित : मंसिर ९, २०७८ ०६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×