२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भेरी पम्पिङ : टेन्डर मिति सरेको सर्‍यै

दसैंअघि टेन्डर हुने भनिएको आयोजनाको केही दिनअघि मात्रै डीपीआर तयार
विश्व बैंकको मापदण्डअनुसार थप प्रक्रिया पूरा गर्नुपरेकाले ढिलाइ भएको दाबी
चाँदनी कठायत

वीरेन्द्रनगर — विगत ५ वर्षदेखि भेरी नदीको पानी पम्पिङ गरेर सुर्खेत उपत्यकामा ल्याउनेबारे छलफल हुँदै आए पनि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । दशैंअघि टेन्डर हुने भनिएको आयोजनाको केही दिनअघि मात्रै डीपीआर तयार भएको छ ।

भेरी पम्पिङ : टेन्डर मिति सरेको सर्‍यै

डीपीआर बनिसकेपछि तिहारलगत्तै टेन्डर हुने भनिएको थियो । तर निर्माणअघिका थुप्रै प्रक्रिया पूरा नभएकाले आयोजनाको टेन्डर मिति लम्बिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । आयोजनाका लागि संरचना बन्ने स्थानको जग्गा प्राप्ति, द्विपक्षीय सम्झौतालगायतका प्रक्रिया अघि बढ्न नसक्दा निर्माणको काम सुरु हुन नसकेको हो । आयोजनाको भौतिक संरचना निर्माण गर्ने भनिएका ठाउँ वन क्षेत्रमा पर्ने भएकाले त्यसको प्राप्तिका लागि समय लाग्ने देखिएको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्रा खोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोलाबीच) मा पम्पिङ मेसिन राख्नेगरी सम्पवेल निर्माणको कामसमेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि स्थान परिवर्तन गरिएको छ । गत वर्ष खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको प्राविधिक टोली तथा विज्ञको टोलीले गरेको अध्ययनपश्चात उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राखिने अध्ययन टोलीले बताएको थियो ।

आयोजना प्रभावित क्षेत्रको वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन, सरोकारवालासँग छलफल तथा स्थलगत अनुगमन पनि थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर सुरत बमले आयोजनाको दिगो सञ्चालन व्यवस्थापन पक्षको अध्ययन अघि बढाइएको जनाए । ‘आयोजनामा विश्व वैंक लगानी गर्न इच्छुक छ,’ उनले भने, ‘तर त्यसका लागि आयोजनाको दिगोपनाको सुनिश्चितताबारे विश्व वैंकलाई विश्वास दिलाउन आवश्यक छ ।’ आयोजना निर्माणका लागि नेपाल सरकारसँग हस्ताक्षर नभइसकेको भन्दै सीडीई बमले सबै काम यही गतिमा अघि बढे मंसिर तेस्रो सातासम्म द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने बताए ।

वीरेन्द्रनगरमा हाल खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सञ्चालनबारे अन्योल छ । हालको उपभोक्ता समितिको कार्यकाल सकिएको ३ वर्षभन्दा बढी भइसक्दा पनि नयाँ कार्यसमिति चयन नभएको भन्दै विश्व बैंकले चासो देखाएको छ । संस्था कुन निकाय मातहत रहने र कस्तो संरचना बनाउने भन्नेबारे टुंगोसमेत लागेको छैन । उक्त समस्या सुल्झाउन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी संयोजक रहेको कार्यदलले संस्थालाई कम्पनी मोडेलमा लैजाने गरी विकल्प सुझाएको छ ।

संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार सञ्चालन मोडालिटी अध्ययन गरी सिफारिस गर्नका लागि मेयरको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य र संस्थाको अध्यक्ष सदस्यसचिव भएको कार्यदल गठन भएको थियो । अब बस्ने कार्यदलको बैठकबाट संस्थालाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्नेबारे निर्णय हुनेछ । ‘नेपाल सरकार र विश्व बैंक दुवै हस्ताक्षर गर्ने अन्तिम तयारीमा छन्,’ उनले भने, ‘विश्व बैंकको मापदण्डअनुसार थप केही कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले टेन्डर हुन थप समय लागेको हो ।’ उनले झन्डै ३ महिनाभित्र प्रथम चरणको आयोजना निर्माण कार्यको टेन्डर हुने बताए ।

कानुनी आधार तथा सञ्चालन व्यवस्थापनलगायतका कुनै समस्या नरहेको अवस्थामा मात्र निर्माण प्रक्रिया अघि बढाउने तयारीमा विश्व बैंक छ । आयोजना निर्माणका लागि लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्नेछ । बाँकी ३० प्रतिशत रकम नेपाल सरकारले लगानी गर्नुपर्नेछ । उक्त लगानी ३ वटै तहका सरकारको समन्वय तथा सहकार्यमा हुने विभागले जनाएको छ । पहिलो चरणका संरचना निर्माणमा मात्रै ३ अर्ब २३ करोड ६३ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणअन्तर्गत इन्टेक इस्टक्चर, रिजर्ब ट्यांकी, पाइपलाइन विस्तारलगायतका काम हुनेछन् ।

दोस्रो चरणमा सेवा विस्तारमा भने कति खर्च लाग्ने भन्नेबारे टुंगो नलागेको विभागले जनाएको छ । विभागले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजनासहित आयोजना कार्यान्वयमा जाने जनाएको हो । भेरी पम्पिङ आयोजनाका लागि यसअघि संघीय सरकारले आर्थिक वर्ष ०७५/०७६ मा २ करोड र गत आवमा ६ करोड बजेट छुट्यायो । तर काम हुन नसक्दा बजेट फ्रिज भयो । प्रदेश सरकारले पनि आव ०७६/७७ मा यही आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएको थियो । तर काम हुन नसक्दा उक्त बजेट पनि फ्रिज भयो । चालु आवमा पनि कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्रा खोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोला बीच) मा पम्पिङ मेसिन राख्नेगरी सम्पवेल निर्माणको काम समेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि स्थान परिवर्तन गरिएको थियो । गत वर्ष खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको प्राविधिक टोली तथा विज्ञको टोलीले गत वर्ष गरेको अध्ययनपश्चात उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राखिने बताएको थियो । त्यहाँबाट ३ सय मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राखिनेछ ।

अध्ययन टोलीका अनुसार भेरीको पानी ३/४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म ७ किलोमिटर लामो पाइप विछ्याईनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखिनेछ भने त्यसलाई मुख्य ट्यांकीसम्म जडान गरिनेछ । उक्त डाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ ।

प्रकाशित : मंसिर ७, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?