कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गममा नियमित उडान भर्दै नेपाल एयरलाइन्स

छपाल लामा

हुम्ला — सरकारी स्वामित्वको नेपाल एयरलायन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा नियमित उडान भर्न थालेको छ । अहिले एयरलाइन्सले सिमकोट विमानस्थलमा सातामा ३ वटा उडान भर्न थालेको हो ।

दुर्गममा नियमित उडान भर्दै नेपाल एयरलाइन्स

विमानस्थलमा यात्रुको चाप वृद्धि भएपछि भएकाले उडान थप गरिएको नेपाल एयरलाइन्स सिमकोटका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले बताए । उनका अनुसार यसअघि हप्तामा एउटा मात्रै उडान हुने गरेको थियो । अहिले आइतबार, सोमबार र बिहीबार उडान भइरहेको उनले जानकारी दिए । एयरलाइन्सले सिमकोटबाट नेपालगन्जसम्मको भाडा ६ हजार ९ सय १० रुपैयाँ तोकेको छ ।

एयरलाइन्सको उडान नियमित भएसँगै जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रुलाई सुविधा पुगेको स्थानीय रविन्द्र देवकोटाले बताए । ‘बाहिर जाने यात्रु र बिरामीले सहज सुविधा पाइरहेका छन्,’ उनले भने, ‘खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी पनि सहज बनेको छ ।’ उनले स्थानीय कृषि उत्पादनले पनि सहज बजार पाइरहेको बताए ।

अहिले सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भरिरहेका छन् । चाडपर्व मनाउन आएका स्थानी धमाधम फर्कन थालेपछि निजी एयरलाइन्सले पनि उडान बढाएका हुन् । अहिले बिहानैदेखि दिउँसो ४ बजेसम्म धमाधम उडान भइरहेको सीता एयरलाइन्सका कर्मचारी सूर्य लामाले बताए । ‘अहिले एउटा कम्पनीले कम्तिमा पनि २ वटा उडान गरिरहेका छौं,’ उनले भने, ‘दसैं–तिहारभन्दा टिकट वितरण पनि सहज छ, सामान ढुवानीमा पनि त्यति समस्या छैन ।’ उनका अनुसार तारा र सीतालगायतका निजी एयरलाइन्सले ६ हजार ३० रुपैयाँ भाडा तोकेका छन् । समिट एयरले ६ हजार १ सय ३० रुपैयाँ भाडा लिइरहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?