चितुवाको छालासहित ४ जना पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको छालासहित ४ जना पक्राउ

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको बड्डीचौरबाट प्रहरीले चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान चितुवाको छालासहित कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का विमल शाही रहेका छन् ।

बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

‘तिउन के खाउँली, रोटी के हालुँली’

रारा जति सुन्दर छ, त्यति नै दारूण छ वरपर बस्तीको गरिबी
विद्या राई

मुर्मा, मुगु — राराताल सुन्दर छ । सुन्दर दृश्यले मात्र पेट भरिँदैन । वरपर यस्ता बस्ती छन्, जहाँ साँझ–बिहान छाक टार्न अनेक सास्ती छन् । तालबाट साढे तीन किलोमिटर पर्तिरको मुर्मा गाउँकी पानसरा रोकायालाई छाक टार्नकै पिरलो छ ।

भिरालो, पाखो बारी छ । त्यसमा फल्ने सिमी, गहुँ, जौ, फापर र आलुले छायानाथरारा नगरपालिका–९ की रोकायाको परिवारलाई वर्ष दिनको छाक टर्थ्यो । वर्षमा एक बाली लाग्ने अलिकति जग्गामा खनजोत र मलजल गर्न सके आफूलाई खाएर बचेको सिमी बेचेर खर्चको जोहो पनि हुन्थ्यो । पाँच जनाको परिवारलाई सामान्य तरिकाले जीविका चलाउन गाह्रो थिएन ।

यस वर्ष खेती सप्रिएन । गहुँ, जौ र फापरलाई खडेरीले खायो । सिमीलाई वर्षाले चुट्यो । फुल्ने, फल्ने बेला पानी धेरै पर्‍यो । जोगिएको सिमीका कोसामा पनि दाना पनि राम्ररी लागेन । भित्र्याउने बेला फेरि वर्षाले बारीमै बिगार्‍यो । तीन पनि महिना खान नपुग्ने चिन्ता सुनाउँदै पानसराले भनिन्, ‘त्यसपछि तिउन के खाउँली, रोटी के हालुँली, कसरी बाचुँली कि भोकै मरुँली ।’ उनको परिवारमा जेठो छोरा बुहारी, एक नाति र कान्छा छोरा छन् । उनीहरूको परिवार कृषिमा निर्भर छ ।


खेतीमा उब्जनी घट्न थालेको तीन वर्ष भइसकेको छ । तर यो वर्ष जस्तो भकारी नै रित्तिने गरीचाहिँ होइन । ६० वर्षीया पानसराको भनाइअनुसार पहिले कात्तिकदेखि चैतसम्म हिउँ परेर जमिनमा चिस्यान हुन्थ्यो । १० वर्षअघिसम्म पुस–माघमा सात फिटसम्म हिउँ पर्थ्यो । घरको ढोका हिउँले पुरिएर हप्ता दिनसम्म घरभित्रै थुनिनुपर्थ्यो । लपक्कै भिजेको पाखो बारीमा गहुँ, जौ हलक्कै सप्रिन्थ्यो । पोटिला दाना लाग्थे ।

पानसराको छिमेकी ५० वर्ष जस्तो देखिने ३२ वर्षीय जीवन रोकायाको परिवारले २० वर्षअघि १० क्विन्टल सिमी बेच्थे । सिमी बेचेको पैसाले नुन, तेल, चामल र परिवारमा लत्ता कपडा हाल्न पुग्थ्यो । बर्सेनि उत्पादन कम हुँदै आयो । यो साल त्यति नै जग्गामा सिमी रापेका थिए । मुस्किलले दुई क्विन्टल भित्र्याउन पाए । ६ महिना जसोतसो त्यही खाएर टार्ने सोचाइमा छन् । त्यसपछि के खाने चिन्तित छन् । उनको परिवारमा आमा, श्रीमती र दुई छोराछोरी छन् । उनको अनुभवमा हिउँ कम परेपछि खेतीपातीमा प्रत्यक्ष असर पर्छ । नयाँ नयाँ रोगकिरा लाग्छन् । पानी धेरै पर्‍यो भने खेतीबाली झारले ढाक्छ । उत्पादन घट्छ ।

रारातालदेखि साढे तीन किमि पश्चिम लागेपछि पुगिन्छ मुर्मा गाउँ । यो सुन्ने जोकोहीलाई लाग्न सक्छ, उत्कृष्ट पर्यटकीय गन्तव्यको उचाइ लिँदै गरेको राराले सबैभन्दा नजिकको यो ठाउँलाई पनि उकास्दै छ । तर पानसरा र जीवन जस्तै सदियौंदेखि कृषि पेसामा निर्भर यहाँका ७६ परिवारलाई खाने, लाउने पिरलो झन्झन् बल्झिँदै छ ।

‘समयमा हिउँ नपर्ने, पानी नपर्ने, बालीनाली नउम्रिने, उम्रे पनि नबढ्ने, नफल्ने, कहिले धेरै पानी परेर बोटैमा कुहेर जाने,’ स्थानीय अगुवा बिर्ख रोकाया भन्छन्, ‘यो वर्ष भोकमरी सुरु भइसक्यो ।’ पहिले छाकैपिच्छे ढिँडोरोटी खानुपरे पनि आफ्नै उत्पादनले वर्ष दिन खान पुग्थ्यो । ‘अहिले उल्टै किन्छौं, बिहान चामलको भात खाने, बेलुकी रोटी खाने गर्छौं र पनि खानको दुःख छ,’ २५ वर्षीया सुन्तली रोकायाले भनिन् ।

मुगुको सदरमुकाम गमगढी र मिलिचौरसम्म सडक सञ्जाल जोडिएपछि उनीहरू आफ्नो उत्पादन घट्न थालेपछि चामल किनेर खान थालेका छन् । रारा राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले मुर्मा गाउँ सडक सञ्जालमा जोडिएको छैन । गमगढी मुर्मादेखि झन्डै १२ किमि टाढा पर्छ भने मिलिचौर पाँच किमि टाढा पर्छ । पैदलै अथवा खच्चड, घोडाबाट चामल बोकाउँछन् । तर चामल किन्ने आयस्रोत बनेको सिमी खेतीकै उत्पादन घटेपछि मुर्मावासीलाई भोकमरीको चपेटामा परेको वडासचिव सुनबहादुर खड्काले बताए ।

खानाको अभाव मुर्मा गाउँको नौलो समस्या भने होइन । थोरै जग्गाजमिन भएका ठूलो परिवारलाई पहिल्यै पनि दुःख हुन्थ्यो । उनीहरू ६ महिना घरखेत र मेलापात गर्थे । ६ महिना भारतमा मजदुरी गर्न जान्थे । कोरोना महामारीपछि भारतमा मजदुरी जाने क्रम घटेको छ । अर्थोपार्जन र उत्पादनमा गिरावट आएपछि खानपानमा असर पुगेको छ ।

जस्तो पोषिलो र सन्तुलित खानपान नपाएकाले महिला र बालबालिकाको स्वास्थ्यलाई प्रभावित पारेको स्थानीय सिदुरा रावलले थाहा पाएकी छन् । ‘सुत्केरी, बिरामी, महिनावारी हुँदा पोषिलो मिठो खान पाउँदैनौं, त्यही त हो यहाँको दुःख रुखासुखा खाएर बाँच्नुपर्छ,’ उनी भन्छिन्, ‘वर्षामासमा बारीमा हरियो सागपात, तरकारी हुन्छ, त्यतिन्जेल खान पाउने भयौं, हिउँदमा बारी नै आगो लगाएजस्तो नांगो हुन्छ । गमगढीबाट किनेर खान पैसा हँॅदैन, खानैका दुःखले हामी महिलाहरू कलिलैमा बूढी देखिन्छौं, केटाकेटी कमजोर हुन्छन् ।’

पारि रारातालको पानी बगेर खत्याड खोला बग्छ । वारि मुर्मा गाउँमा सिँचाइ सुविधा छैन । खडेरी गर्दा पछिल्लो समय खानेपानीको मूल सुक्न थालेका छन् । खानेपानीको धारा बिहान ६ बजे खुल्छ । १० देखि दिउँसो ४ बजेसम्म बन्द हुन्छ । महिनाबारी भएका महिला र किशोरीहरू आधा घण्टा टाढा हिँडेर जंगलको बीचमा पर्ने खोलामा नुहाइधुवाइ र सरसफाइ गर्न जानुपर्ने बाध्यता रहेको छायानाथ रारा नपा–९ की वडा सदस्य छ्याउकला विकले बताइन् ।

चरम गरिबी सामाना गरिरहेको मुर्मा गाउँ शिक्षा, स्वास्थ्य, रोजगारीको न्यूनतम पहुँचबाटै वञ्चित छ । यस वर्षको कृषि उत्पादनको गिरावटले शिक्षामा प्रत्यक्ष असर पार्ने स्थानीय विद्यालयका प्रधानाध्यापक नन्दसिंह रोकायाले सुनाए । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा आठसम्म पढाइ हुँदै आएको थियो । त्यसपछिको पढाइका लागि सदरमुकाम गमगढी, नेपालगन्ज तथा काठमाडौंलगायत सहर पुग्नुपर्ने बाध्यता थियो । आर्थिकस्तर कमजोर भएकाहरू बाहिर गएर पढ्न नसक्ने हुँदा स्थानीय अगुवा र विद्यालयको समन्वयमा तीन वर्ष यता निजी स्रोतबाट तीन जना शिक्षक राखेर कक्षा ९ र १० मा पढाइ सञ्चालन गर्दै आएका छन् । विद्यार्थीहरूको खाजा खर्च कटाएर, अभिभावकहरूले सिमी बेचेर चन्दा संकलन गरेर शिक्षकलाई तलब दिँदै आएका छन् । यस वर्ष शिक्षकको तलब व्यवस्थापन गर्नका लागि चुनौती थपिएको प्रधानाध्यापक रोकायाले गुनासो गरे । यस विद्यालयमा कक्षा १ देखि १० सम्म १ सय १८ जना विद्यार्थी छन् ।

प्रकाशित : मंसिर ५, २०७८ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×