जाजरकोटमा मिनीट्रक दुर्घटना : दुई जनाको मृत्यु

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको बा ५ छ २५०१ नम्बरको मिनीट्रक बिहीबार राति जाजरकोटको छेडागाड नगरपालिका–१ ध्यापुटाकुरामा दुर्घटना भएको हो ।

दुर्घटनामा जाजरकोट जुनीचाँदे गाउँपालिका–२ निवासी २६ वर्षीय डिलबहादुर शाही र सोही ठाँउका १४ वर्षीय पारस सिंहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ८ मध्ये सात जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । जुनीचाँदे–११ का नवीन सिंह र जुनीचाँदे–९ का धनबहादुर शाही गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

दुर्घटना बिहीबार राति ११ बजे भएको थियो । रातिको समय भएको तत्काल उद्धार गर्न कठिन भएको थियो । बाटो अफ्ठयारो भएकोले मोडमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक करिब तीन सय मिटर तल खसेको थियो । ट्रकमा खाद्यान्न लगायतको समान पनि थियो । लोड धेरै भएकोले पनि दुर्घटना भएको प्रहरीले बताएको छ ।

चाडवाडको समयमा गाडी नपाएका कारण यात्रुहरु मिनीट्रक चढेका थिए । तिहार मनाउन घर जान थालेका उनीहरु दुर्घटनामा परेका हुन् ।

प्रकाशित : कार्तिक १९, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?