१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निरु बिक बलात्कारपछि हत्या : दुई महिनामा पनि दोषी पत्ता लागेन, मान्ममा प्रदर्शन 

तुलाराम पाण्डे

कालिकोट — दुई महिनाअघि बलात्कारपछि हत्या आशंका गरिएकी खाडाचक्र ६ दाहा गोरालवाडाकी १६ वर्षीया किशोरी निरु विश्वकर्माको हत्यारा सार्वजनिक गर्न माग गर्दै सदरमुकाम मान्ममा प्रदर्शन भएको छ । दलित अधिकारकर्मी सरु सुनारको नेतृत्वमा स्थलगत अनुगमनका लागि कालीकोट आएका दलित अधिकारकर्मीसहित स्थानीयले बिहीबार मान्म बजारमा प्रदर्शन गरेका हुन् । 

निरु बिक बलात्कारपछि हत्या : दुई महिनामा पनि दोषी पत्ता लागेन, मान्ममा प्रदर्शन 

प्रदर्शनमा सहभागीले 'निरु हत्यारालाई सार्वजनिक गरी कारबाही गर', 'बलात्कारीलाई फाँसी दे', 'दलित माथिको विभेद अन्त्य गर', 'निरुका परिवारलाई न्याय दे' जस्ता नारा लगाउँदै ब्यानर, प्ले कार्डसहित बजार परिक्रमा गरी प्रतिमा चोकमा विरोध सभा गरे । बलात्कारपछि हत्या गरेर मकै बारीमा लाश भेटिएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नुमा प्रहरीको अनुसन्धान प्रक्रिया फितलो भएको मानवअधिकारकर्मी कालीबहादुर मल्लले बताए ।

दाहा पुगेर फर्किएकी अधिकारकर्मी सुनारले केही उपल्लो जातका भनिएका व्यक्तिबाट धम्की दिइएको जानकारी दिइन् । उनले हत्याबारे गाउँमा सोधपुछ गर्दा केही ठकुरी भनिने ब्यक्तिले धम्की दिएको बताइन् । उनले दलित महिलामाथि ज्यादतीका घटना दिनहुँ भइरहेका भए पनि प्रहरी प्रशासन मौन बसेको भन्दै अन्यायविरुद्ध कालीकोटका महिलाले सशस्त्र द्वन्द्वमा प्रहरीको बन्दुक खोसेर प्रतिरोध गरेको स्मरण गर्दै अन्यायमा परेका दलित समुदायले शान्तिको भजन गाउन नसकिने बताइन् । उनले निरु विकका हत्या गाउँ वरिपरी नै घुमिरहेको दाबी गरिन् ।

गत भदौ ४ गते बेलुकी ७ बजेसम्म घरमै भएकी किशोरीको ७ गते दिउँसो घरबाट करिब ३ सय मिटर तल मकैबारीमा शव भेटिएको थियो । घरबाट कसैले बोलाएर गएपछि सामूहिक बलात्कार गरेर हत्या गरिएको हुन सक्ने स्थानीय बसन्त विश्वकर्माले बताए । लासको भेटिएको ठाउँमा लछारपछार भएको छ । उनले जबरजस्ती गर्न खोज्दा नमानेपछि हत्या गरिएको दाबी गरे ।

दलित अधिकारकर्मी दिनेश चदाराले कालीकोटमा दलित समुदायका मनवीरे सुनार, मना सार्कीलगायतको जातीय विभेद गर्दै कुटपिटबाट हत्या गरिएको सुनाउँदै दलित समुदाय छुवाछूत र विभेदको सिकार भइरहेको बताए । निरु दलित समुदायकी बालिका भएकोले राज्यले अपराधीलाई उन्मुक्ति दिएको उनको आरोप छ ।

दलित अधिकारकर्मी बाले विश्वकर्माले घटनालाई प्रहरी प्रशासनले अनुसन्धान पनि राम्रोसँग नगरेको गुनासो पोख्दै प्रहरीको उच्चस्तरीय छानबिन टोलीको माग गरे । कालीकोटमा दलित किशोरीहरु वनजंगल, विद्यालय जाँदा बाटोघाटो, पानी पँधेरो र आफ्नै घरमै असुरक्षित रहेको बालअभियन्ता किशोरी संगीता दमाइले बताइन् ।

कालीकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले अनुसन्धान जारी रहेको बताए । उनले गाउँभित्रकै मान्छेको संलग्नतामा हत्या भएको अनुमान गरे । 'घटनास्थल हेर्दा हत्याजस्तै देखिन्छ,' डिएसपी शाहले कान्तिपुरसँग भने घटनास्थलको प्रकृति, लाशको अवस्था हेर्दा हत्याजस्तो देखिन्छ ।' उनले मकैबारीमै लछारपछार गरेर घाँटी थिचेको हुनसक्ने सुनाउँदै अपराधी टाढाको भन्दा पनि चिनेजानेकी हुनसक्ने आशंका गरे ।

हालसम्म प्रहरीले घटनास्थल वरपरका ५० भन्दा बढीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म ल्याएर सोधपुछ गरेको र गाउँमा पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । दलित समुदायकी किशोरीको बलात्कारपछि हत्या गरिएको जनाउँदै कालीकोटका अधिकारवादी संघसंस्था र अधिकारकर्मीले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे । दलित मुक्ति मोर्चा, दलित सेवा संघ, दलित मुक्ति अभियान, नेपाल दलित संघ, जिल्ला दलित अधिकार प्रवर्द्धन एवं समन्वय समिति, मानवअधिकार संजाललगायतका प्रमुखले बलात्कारीको पहिचान गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन मागे गरेका छन् ।

बेलुकी ६ बजेपछि छोरी हराएर ७ गते मकैबारीमा विभत्स रुपमा लाश भेटिएको किशोरीका बुवा रत्ने गोराल (नेपाली) ले बताए । उनले छोरीको बलात्कारपछि हत्या गरेको दाबी गरे ।

स्थानीय सरस्वती मावि हुपीडाँडामा कक्षा ८ मा अध्ययनरत निरु गाउँमा गठिन किशोरी समूहकी सदस्य थिइन् । उनले किशोरी कक्षामा अधिकारका बारे जानकारी पाएकीले उनीमाथि जबरजस्तीको प्रयास भएपछि प्रतिवाद गर्दा हत्या भएको विमला गोरालले बताइन् ।

प्रकाशित : कार्तिक ११, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?