सल्यानमा ३ महिनामा ४२ सवारी दुर्घटना

विप्लव महर्जन

सल्यान — जिल्लामा पछिल्लो ३ महिनामा ४२ सवारी दुर्घटना भएका छन् । सडकको दूरावस्था तथा तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनामा बढेको हो ।

सल्यानमा ३ महिनामा ४२ सवारी दुर्घटना

सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । ३ महिनाको अवधिको उक्त दुर्घटनामा १० ट्रक, ८ बस, १२ जीप, १२ मोटरसाइकल, एक ट्याक्टर र अन्य छ सवारी दुर्घटनामा परेको ट्राफिक कार्यालय सल्यानले जनाएको छ । ट्राफिक कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक दिपेन्द्रबहादुर केसीका अनुसार साउनमा १८, भदौमा १६ र असोजमा ८ साना–ठूला सवारी दुर्घटनामा परेका छन् ।

ट्रफिक नियम पालना नगर्ने र सडकको अवस्था समेत नहेरी चालक, सहचालकले मनपरी तीव्र गतिमा सवारी हुँइक्याउने गरेकै कारण सडक दुर्घटना बढ्दै गएको उनले जानकारी दिए । ‘जिल्लाका अधिकांश कच्ची सडकमा खाल्डाखुल्डी छन् । पानी पर्नेे बित्तिकै हिलाम्मे हुने गर्छन् । सडकको दूरावस्था भएको देख्दादेख्दै व्यवसायीले छिटो रकम कमाउने लालचमा परेर क्षमता भन्दा बढी यात्रु हाल्छन् र अन्य कुरामा खासै ध्यान दिँदैनन् । सोही कारण दुर्घटना बढ्दै गएको छ,’ उनले भने ।

३ महिनामा ४२ सवारी साधन दुर्घटना परे पनि ठूलो मानवीय क्षति भने नभएको उनी बताउँछन् । ‘दुर्घटना न्यूनीकरणका लागि प्रहरी तथा ट्राफिकले बारम्बार चालक, सहचालक तथा गाडी धनीलाई तालिम, प्रशिक्षण दिँदै आएको छ,’ उनले भने, ‘गाडी व्यवसायीले बेवास्ता गर्दै आएका छन् । जसका कारण समस्या जस्ताको तस्तै छ ।’ दुर्घटनाबाट बच्नका लागि चालक, सहचालकले सुरुमा सवारी साधन जाँच गर्न उनी सुझाउँछन् ।

जिल्लामा सवारी दुर्घटनाको कारण भने सडकको दूरावस्था, घुम्ती, तीव्र गति मात्र नभई कारण धेरै देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द बताउँछन् । गाडी दुर्घटनाबाट बच्नका लागि अनिवार्य ट्राफिक नियम पालना गर्न र सडकको अवस्था हेरी सवारी साधन चलाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?