सल्यानमा ८ हजार ३ सय ७० मेट्रिक टन धानमा क्षति

विप्लव महर्जन

सल्यान — अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा ८ हजार ३ सय ७० मेट्रिक टन पाकेको धानमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालयका निमित्त प्रमुख महेश आचार्यका अनुसार वर्षातले अधिकांश खेतमा पानी जमेको र काटेर राखिएका धान भिजेकाले क्षति भएको हो ।

सल्यानमा ८ हजार ३ सय ७० मेट्रिक टन धानमा क्षति

जिल्लाका विभिन्न स्थानमा रहेका ७ हजार ७२ हेक्टर खेतबाट किसानले करिब ३० हजार मेट्रिक टन धान उत्पादन गर्ने गरेकोमा कुल उत्पादनको २७.८५ प्रतिशतमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका १० स्थानीय तहअन्तर्गत शारदा नगरपालिकाभित्र १ हजार २ सय ६९, बाग्चौर नगरपालिकामा ८ सय ११, बन्गाड कुपिण्डे नगरपालिकामा ५ सय २५, कालीमाटी गाउँपालिकामा ५ सय १८, त्रिवेणीमा १ हजार ४ सय ८८, छत्रेश्वरीमा १ हजार ८ सय ३, दार्मामा २ सय १०, कुमाखमा ९ सय ९१, सिद्धकुमाखमा ७ सय ५१ मेट्रिक टन पाकेको धानमा क्षति भएको र कपुरकोट गाउँपालिकाको विवरण आउन बाँकी निमित्त कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

कृषि विकास कार्यालयका अनुसार शारदा नगरपालिकामा ९ सय १९, बाग्चौर नगरपालिकामा ६ सय ३६, बन्गाड कुपिण्डे नगरपालिकामा ९ सय ९०, त्रिवेणीमा ७ सय ७७, छत्रेश्वरीमा ७ सय ७, कपुरकोटमा ३ सय ५३, कालीमाटीमा १ हजार ६०, दार्मामा ४ सय ९५, कुमाखमा ७ सय ७७ र सिद्धकुमाख गाउँपालिकामा ३ सय ५३ हेक्टर खेतीयोग्य जग्गामा किसानले धानबाली लगाएका थिए । पाकेको धानबाली क्षति हुँदा जिल्लाभरीका अधिकांश किसान प्रभावित भएको आचार्यको भनाइ छ ।

हालसम्म किसानहरुले २९ प्रतिशत धान मात्रै भित्र्याएको र अझै ३ हजार बढी हेक्टर तथा ४५ प्रतिशत जग्गामा पाकेको धानबाली काट्न बाँकी रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर बस्नेतले बताए । पाकेको धान वर्षाले भिजेपछि उत्पादनमा ह्रास आउने मात्र नभई बिउको लागिसमेत प्रयोग गर्न नमिल्ने उनी बताउँछन् ।

प्रकाशित : कार्तिक ३, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?