१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पहिरोले घर भत्किँदा किशोरीको मृत्यु

तुलाराम पाण्डे

कालिकोट — तीन दिनदेखिको अविरल वर्षापछि गएको पहिरोले गएराति घर भत्किँदा महाबै-७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् । 

खाना खाएर घरमा सुतिरहेको बेला राम्नी अधिकारी वडाका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

उनकाअनुसार घाइते इशानीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई सोमबार राति १२ बजे स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ । सोमबार राति पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । वर्षा नरोकिएकोले गाउँ नै पहिरोको जोखिममा छ ।

वर्षाले खाँडाचक्र १ मान्म बजारस्थित एलना मेडिकल हलको पछाडिको पर्खाल भत्किँदा औषधि क्षति भएको छ । पहिरोले मान्म बजारको नाव गैराका १३ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, ताडीबाट मान्म बजार आउने साकालामा ढुंगा नजिकै पुरानो बाटोमा पहिरो जाँदा आवागमन नै रोकिएको छ ।

त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएको छ । दसैं लगत्तै गाडी तार्न फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो । फेरि बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

अविरल वर्षाले कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरि, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बेमौसमी वर्षाले कृषकको पाकेको धान बालीमा क्षति पुर्‍याएको छ भने खनजोत गरिएको पाखोबारी पनि भत्किएर नोक्सानी पुर्‍याएको खाँडाचक्र ३ का कृषक गोबी पाण्डेले गुनासो पोखे ।

प्रकाशित : कार्तिक २, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?