कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कामविहीन यातायात कार्यालय

कर्मचारी भन्छन्– ‘कार्यालय खोलिए पनि कार्यादेश दिइएन, २९ दिन कटाएर ३० औं दिनमा तलब लिने काम मात्र भइरहेको छ’
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय झन्डै २ वर्षदेखि कामविहीन बनेको छ । कर्मचारीहरू सरुवा मिलाउँदै अन्यत्र जान थालेका छन् भने सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज गएर सेवा लिन बाध्य छन् ।

कामविहीन यातायात कार्यालय

२०७६ भदौ २६ गते चौरजहारीमा कार्यालय स्थापना भएको हो । कार्यार्लय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको कर्मचारीको गुनासो छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको निमित्त प्रमुख प्रदीपकुमार रेग्मीले बताए ।

‘कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन,’ उनले भने, ‘हामी कामका लागि तयार छौं, तर २९ दिन कटाएर ३० औं दिनमा तलब लिने काम मात्र भइरहेको छ ।’ आफूहरूको काम भनेको तलब निकाल्न जिल्ला सदरमुकाम पुग्ने मात्रै भइरहेको उनले बताए । कार्यादेशका लागि पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि बेवास्ता भएको उनको भनाइ छ ।

कार्यालयमा उपसचिवसहित एक/एक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए । अहिले भने ४ जना कर्मचारी कार्यालय रुँघेर मात्र बसिरहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए । उनीसहित अहिले कार्यालयमा एक/एक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र सहयोगी मात्रै छन् । ‘काम नहुने भएपछि अरू कर्मचारी अन्यत्रै सरुवा भएर गए,’ उनले भने, ‘कार्यालय नै बन्द गर्न नमिल्ने भएपछि हामी रुँघेर बसिरहेका हौं ।’

कार्यालय स्थापना भएलगत्तै यातायात व्यवस्था विभागले सफ्टवेयर जडान गर्न नमिल्ने भनेर चिठी लेखेको थियो । त्यसपछि कार्यालयको काम अघि बढेन । दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो ।

अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगन्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय लीलाप्रसाद ढकालले बताए । ‘संघीयताले सजिलो हुने भयो भनेर सोचे पनि व्यवहारतः त्यो कार्यान्वयन भएन,’ उनले भने, ‘घर नजिकै कार्यालय छ, तर कामका लागि जिल्लाबाहिर जान बाध्य छौं ।’

प्रकाशित : आश्विन ३१, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?