पसल, मेडिकल र घरबाट सामूहिक रुपमा लाखौंको चोरी

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका १ दमाचौर बजारस्थित अज्ञात समूहले आठ पसल, मेडिकल, व्यक्तिका घर र विद्यालयमा शुक्रबार राति चोरी गरेको छ।

दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीकाटाला तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले सामूहिक रुपमा चौरी गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

पसल तथा घरमा लगाएको ताला फोरी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद ,सुनका गहना, रिचार्ज कार्ड लगायत अन्य सामग्री चोरेर लगेका छन् । अज्ञात समूहले दमाचौर बजारका चुडामनी बस्नेतको मेडिकलको ताला फोडेर नगद रु. ५० हजार, केसब केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका वडा अध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको ढाई तोला सुन, चित्रजंग शाहको मेडिकलबाट ७९ हजार नगद १ लाख २० हजार बराबरको ढाई तोला सुन चोरी गरेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार यमलाल जैसीको पसलबाट ५ हजार नगद,भारती कुमारी बिकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरेर लगेका छन् । सामूहिक रुपमा आठ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको तालासमेत फोरेको उनले जानकारी गराए ।

चाडपर्वको समयमा जुवा खेल्नेहरुले पसल तथा व्यक्तिका घरमा चोरी गरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । संकास्पद व्यक्तिलाई सोधपुछको कामसमेत भइरहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?