१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

५ दिने यात्रापछि ८५ वर्षीया रारामा

राजबहादुर शाही

मुगु — खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटक बनेर सडक मार्गबाट रारा पुगेकी छन् । ५ दिनको जिप यात्रापछि उनी रारा पुगेकी हुन् । रारा घुमेर फर्किएका एक आफन्तबाट राराको वर्णन सुनेकी उनलाई २ वर्षदेखि रारा आउने हुटहुटी चलेको थियो । ‘राराको सुन्दरता साँच्चिकै शब्दमा वर्णन गर्न नसकिने रहेछ,’ उनले भनिन्, ‘बाटोको मनमोहक दृश्य अनि राराको सुन्दरताले मनै छोयो ।’

५ दिने यात्रापछि ८५ वर्षीया रारामा

रारा पुग्ने उनको तीव्र इच्छापछि उनका छोरा विशाल भट्टराईले रारा पुग्ने व्यवस्था मिलाएका हुन् । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै उनीहरू रारा पुगेका हुन् ।

कति बेला रारा देखौँला भन्ने उत्सुकताले यात्रामा कुनै थकानको महसुस नभएको भट्टराईले बताइन् । ‘जीवनको उत्तरार्धमा भए पनि रारा देख्न पाइयो,’ उनले भनिन्, ‘फेवातालभन्दा रारा कैयौं गुणा सुन्दर रहेछ ।’ उनले शनिबार दिनभरि डुंगामा बसेर रारातालको सयर गरिन् । स्थानीय रहनसहन, कर्णाली राजमार्ग, कर्णाली नदीलगायतले पनि आफूलाई लोभ्याएको उनको भनाइ छ ।

पौडेल आइतबार भने घोडा चढेर रारा आसपासका गाउँमा घुम्न गइन् । रारामा एक रात बसेर मार्सी चामलको भातको स्वाद चाख्न पाउँदा धेरै खुसी लागेको उनको भनाइ छ । ‘सरकारले रारातालको संरक्षण गर्न जरुरी छ, यहाँको प्राकृतिक सुन्दरतालाई कायम गर्न सके लाखौं विदेशी पर्यटक रारामा ल्याउन सकिन्छ,’ उनले भनिन्, ‘पूर्वाधार अभावमा पनि रारा ओझेलमा परेको छ, सरकारले यसमा ध्यान दिन जरुरी छ ।’

रारा आएर विभिन्न प्रजातिका हिमाली वन्यजन्तु र चराहरू देख्न पाएको उनले बताइन् । ‘रारा आउने सडक जीर्ण हुँदा केही दुःख भोग्नुपर्‍यो, तर पनि राराको सुन्दरताले सबै थकान मेटायो,’ उनले भनिन्, ‘आएका पर्यटकको सुविधाका लागि रारा नजिक १०/१५ वटा होटलको व्यवस्था गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ कोठा नपाएर टेन्टमा बास बस्नुपरेको उनीसँगै घुम्न आएकी मञ्जु पोखरेलले बताइन् ।

दसैं सुरु भएसँगै बिदाको मौका पारी रारा घुम्न आउनेहरूको संख्या बढ्दै गएको छ । अहिले दैनिक १ सयसम्म आन्तरिक पर्यटक रारा घुम्न आएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । उनका अनुसार रारामा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि होटल व्यवसायी, डुंगा चालक र घोडा व्यवसायीको समेत व्यस्तता बढेको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?