१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हट्यो ताक्लाकोट जानुपर्ने बाध्यता

छपाल लामा

हुम्ला — हिमाल पारिको गाउँ नाम्खा गाउँपालिका–६ लिमीमा प्रसूति गृहसहितको स्वास्थ्यचौकी बनेपछि उपचारका लागि चीनको ताक्लाकोट पुग्नुपर्ने बाध्यता हटेको छ । तिल, हल्जी र जाङका बासिन्दाको उपचारका लागि लिमीमा स्वास्थ्यचौकी स्थापना गरिएको छ ।

हट्यो ताक्लाकोट जानुपर्ने बाध्यता

सदरमुकाम सिमकोट पुग्न ५ दिन र गाउँपालिकाको केन्द्र यलबाङ पुग्न २ दिन लाग्ने भएपछि स्थानीयलाई ताक्लाकोटकै उपचारमा भर थियो । तर कोरोना महामारीका कारण दुई वर्षदेखि चीनले नाका बन्द गरेपछि स्थानीयलाई उपचारमा समस्या थियो । ‘नाका बन्द भएपछि घरेलु उपचार र धामीझाँक्रीकै भरमा थियौं,’ स्थानीय गिरमेत लामाले भने, ‘अब अस्पताल बन्यो, उपचार सहज हुने आशा छ ।’

भौगोलिक विकटताका कारण हुम्लाका स्वास्थ्यचौकीहरूमा स्वास्थ्यकर्मी र औषधिको सधैं अभाव हुन्छ । अब गर्भवती महिलाले नियमित खोप पाउने र गाउँमै सुत्केरी हुने सुविधा पाएको स्थानीय पेमा तामाङले बताइन । ‘स्वास्थ्यचौकी नहुँदा हामीले कहिल्यै गर्भजाँच गराउन पाएनौं,’ ३ सन्तानलाई जन्म दिएकी उनले भनिन्, ‘खोप त झन् टाढाको कुरा थियो ।’

स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहयोगमा लिमीमा स्वास्थ्यचौकी निर्माण गरिएको हो ।

७१ लाख रुपैयाँको लगानीमा बनेको ३ कोठे स्वास्थ्यचौकीमा एउटा कोठा प्रसूति सेवाका लागि प्रयोग गरिनेछ । जसमा छाँया नेपालले ४५ लाख र गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गरेका छन् । गाउँमै उपचार पाइने भएपछि स्थानीयले ६ लाख रुपैयाँको श्रमदान गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा शौचालयसहित तातो पानीको व्यवस्थासमेत छ ।

तत्कालका लागि ३ जना स्वास्थ्यकर्मी खटाइएको उनले जानकारी दिए । स्वास्थ्यचौकीमा ओपिडी, प्रसूति सेवा, खोप सेवा, परिवार नियोजन, ल्याब परीक्षण, गर्भवती जाँचलगायतका सेवा प्रवाह हुनेछन् । बिरामीका लागि निःशुल्क औषधिको व्यवस्था गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

‘आधारभूत स्वास्थ्य र सुरक्षित प्रसूति सेवा नागरिकको मौलिक हक पनि हो,’ उनले भने, ‘उपचारकै लागि यहाँका बासिन्दाले ठूलो सास्ती भोगे, चीनसम्म पुगेर उपचार गर्नुपर्ने बाध्यताबाट सबैले मुक्ति पाएका छौं ।’ उनले वडालाई क्रमशः पूर्वाधारमैत्री बनाउन गुरुयोजना निर्माण गरी क्रमशः कार्यान्वयनमा लगिएको बताए । उनका अनुसार चिनियाँ सीमा जोडिएकाले स्थानीयबासी खाद्यान्न, दैनिक उपभोग्य सामग्री, रोजगारीलगायतका लागि ताक्लाकोटको भर पर्न बाध्य छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?